एनआरएनए बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड – Nepal Press

एनआरएनए बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

घटनाबारे छानविन गर्दै बेल्जियम प्रहरी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नयाँ नेतृत्व चयनका लागि भएको चुनाव बिथोलिएको छ । एघारौं महाधिवेशन अन्तर्गत मतदान सकिन आधा घण्टा बाँकी रहँदा बेल्जियमको आन्तार्पेन बुथमा केही युवा प्रवेश गरी मतपेटिका तोडफोड गरेका थिए ।

उक्त घटनापछि सामाजिक संजालमा जारी भिडिओहरुमा मतदानस्थल तोडफोडले भद्रगोल देखिएको छ भने केही महिलाहरु चिच्याइरहेको देख्न सकिन्छ ।

तोडफोड हुने थालेपछि मतपत्रहरु भुइँमा छरिएका थिए । प्रत्यक्षदर्शी पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माका अनुसार नेपाली समुदायबाहिरका पाँचजना युवाहरु मतदान स्थल पुगेर तोडफोडमा सक्रिय भएका थिए ।

तोडफोडमा संलग्न युवासँग केही नेपाली एनआरएन प्रतिनिधिले प्रतिकार गरेका थिए । कोषाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र नेपाल र संघ बेल्जियमकी पूर्वध्यक्ष शारदा अर्याल, क्षेत्री समाजकी अध्यक्ष मुना केसीलाई चोट लागेको छ ।

घटनापछि निर्वाचन समितिका सदस्य सचिव शिवकुमार बटुवालले वक्तव्य जारी गर्दै हलमा प्राप्त भिडिओका आधारमा समितिले कानूनी कार्वाहीका लागि बेल्जियम प्रहरीलाई जानकारी गराइसकेको उल्लेख छ ।

निर्वाचन अनुगमन प्रतिनिधिको रोहवरमा मतपेटिका सुरक्षित ठाउँमा तालबन्दी गरी राखिएको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार अगाडि बढ्ने पनि जारी वक्तव्यमा उल्लेख छ ।

प्रवासी नेपाल एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले वक्तव्य जारी गर्दै घटनालाई सुनियोजित भएको बताउँदै आपत्ति व्यक्त गरेका छन् । निर्वाचत समिति संयोजक शालिक थपलियाले पनि वक्तव्य जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

एनआरएन बेल्जियमको निर्वाचनमा जहिले पनि पार्टीगत आधारमा चुनाव हुने गरेको छ। यसपटक नेपालमा भएको गठबन्धन अनुसार नै सत्तारुढ गठबन्धन एकातिर र एमाले एकातिर भएर चुनाव लडेकोमा गठबन्धन पक्ष तोडफोडमा उत्रिएका आरोप एमाले पक्षले लगाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *