भोज खान गएका दिपेशको साथीबाटै हत्या भएको शंका, हत्यारा पत्ता लगाइ कारवाही गर्न माग – Nepal Press

भोज खान गएका दिपेशको साथीबाटै हत्या भएको शंका, हत्यारा पत्ता लगाइ कारवाही गर्न माग

गाउँकै दुई साथीसँग भोज खान गएका थिए दिपेश

जनकपुरधाम । धनुषास्थित शहीदनगर नगरपालिका ९ का २३ वर्षीय दिपेश रजक असार २७ गते रातिदेखि बेपत्ता भए । साथीसँगै भोज खान भारत गएका उनी सम्पर्कविहीन भएपछि चौतर्फी खोजी भयो । तर दिपेश फेला परेनन् ।

गाउँ आसपासमा फेला नपरेपछि दिपेशका बुवा सतिशनारायण छोरा खोज्न भारततिर गए । दिपेश श्राद्धको भोज खान गएको स्थान भारतको बासोपट्टी थानाअन्तर्गत छतौनी पञ्चायत पुगे । त्यसपछि मधुवनी प्रहरी कार्यालयमा पुगेर छोरा बेपत्ता भएको बताए । प्रहरीले एउटा शवको फोटो देखायो । छतौनीस्थित बछराजा नदीमा फेला परेको शवको फोटो हेरेर सतिशनारायणले चिन्न सकेनन् । तर, प्रहरीले शवको फोटो देखाएपछि उनी थप आत्तिए ।

त्यसपछि मधुवनी अस्पतालमा पठाइएको उक्त शवलाई हेर्न उनी आफैं गए । अस्पताल पुगेर शव हेर्दा उनी भण्डै बेहोस भए । किनकि, उक्त शव छोरा दिपेशको थियो ।

२३ बर्षीय दिपेशले लगाएको कपडा, पेटी, दाँत, कपालसमेतबाट उनलाई छोरोको शव चिन्न गाह्रो भएन ।

भारतीय कानुनअनुसार सबै प्रकृया पुर्याएर उनले ३ साउनमा छोराको शव गाउँ ल्याए । ४ साउनमा प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएर शवको पोष्टमार्टम गरियो । यसअघि भारतमा पनि पोष्टमार्टम गरिएको भएपनि प्रहरीले भनेपछि जनकपुरधाममा पनि पोष्टमार्टम गरिएको उनले बताए । पछि त्यहाँँबाट छोराको शव बुझेर सदगद गरिएको उनी बताउँछन् ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक देखिएको बताए ।

गाउँकै दुई साथीसँग भोज खान गएका थिए दिपेश

असार २७ गते राति शहीदनगर नगरपालिका वडा नम्बर ८ का दुर्गानन्द रजक र वडा नम्बर ७ का रंजित मण्डल मोटरसाइकल लिइ दिपेशको घरमा आए । उनीहरुले भारतको बासोपटीस्थित महथौर कटैयामा ‘भोज छ खान जाउँ’ भने । ‘हामीले राति छोरालाई जान पर्दैन भन्यौं’, दिपेशका बुवाले त्यसबेलाको घटना सम्झँदै भने, ‘तर उनीहरुले राति नै भोज खाएर फर्किने भन्दै आग्रह गरेपछि छोरालाई पठाएँ ।’

दिनभर दुर्गानन्द र रंजितसँगै आफ्नो छोरा सँगै रहने भएकाले त्यत्ति वास्ता नगरी जान दिएको उनी बताउँछन् ।

दिपेश राति अबेरसम्म घर नआएपछि सतिशनारायण दुर्गानन्द र रंजितको घरमा गएर बुझ्न गए । उनीहरुका परिवारले केही थाहा नभएको बताए । पछि दुर्गानन्द र रंजितले दिपेशलाई यदुकोहाको भठी चोकमा छोडिदिएको बताएको सतिशनारायणको भनाइ छ ।

अर्को दिन फोन गर्दा धबौली जाने बाटोमा आफूहरुले देखेको उनीहरुले बताए । ‘त्यसपछि छोरा फर्केर घर नआएको सम्बन्धमा इलाका प्रहरी कार्यालय यदुकोहामा निवेदन दिइ छोराको खोजी गर्न आग्रह गरियो’ दिपेशका बुवाले भने ।

भोज खान लैजाने साथीहरु फरार !

भोज खान भन्दै मोटरसाइकलमा लैजाने साथीले नै हत्या गरेको दिपेशको परिवारको शंका छ । सतिशनारायणका अनुसार दिपेशलाई भारत लग्ने दुर्गानन्दका पिता भगतनारायण र भगतनारायणका भाइ रुपनारायणसँग पारिवारिक रिसइबी थियो ।

रुपनारायण र भगतनारायणले तिम्रो छोरालाई मारिदिन्छु भन्ने धम्की दिँदै आएको उनको भनाई छ । ‘त्यसैले उनीहरुकै मिलोमतोमा दुर्गानन्द र रंजितले मेरो छोरालाई मारेका हुन सक्छन्’, उनले भने, ‘त्यहीं भएर रुपनारायण र भगतनारायणका साथै छोराालाई भारत लग्ने दुर्गानन्द र रंजित पनि फरार भएका छन् ।’

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी मिश्रले पनि उनीहरु फरार भएको बताए । ‘फरार भएकाहरुको खोजी र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने । पोष्टमार्टको रिपोर्ट पनि नआएको र आएपछि थप कुरा बाहिर आउने उनले बताए ।

वैदेशिक रोजगारीमा जाने तयारीमा थिए दिपेश

दिपेश कुमार रजक वैदेशिक रोजगारीका निम्ति दुई बर्षअघि मलेसिया गएका थिए । त्यहाँ काम गर्न थालेको ६ महिना नबित्दै बिरामी परे । त्यसपछि कम्पनीले घर फर्काइदिएको थियो । डेढ वर्षदेखि घरमै बस्दै आएका दिपेश पुनः वैदेशिक रोजगाारीमा जाने तयारी गरिरहेका थिए ।

पुनः मलेसिया जानकै लागि दिपेशले मेनपावर कम्पनीलाई पासपोर्ट बुझाएका थिए ।

विदेश जाने तरखरमा रहेका छोराको शव फेला परेको सुनेदेखि हालसम्म आमा चन्द्रकला रजक बेहोशझैं छिन् । दिपेशका परिवारले हत्यारा पत्ता लगाएर सजायँका लागि आग्रह गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर