अमेरिका-चीन तनाव थप चुलियो : चीनद्वारा पूर्वमन्त्रीसहितका अमेरिकी अधिकारीमाथि प्रतिबन्ध – Nepal Press

अमेरिका-चीन तनाव थप चुलियो : चीनद्वारा पूर्वमन्त्रीसहितका अमेरिकी अधिकारीमाथि प्रतिबन्ध

बेइजिङ । चीन र अमेरिकाबीच पुनः तनाव चुलिएको छ । आफ्ना कम्पनी र व्यवसायीलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चिनियाँ प्रतिबन्धको सूचीमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीन भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले यस्तो निर्णय गरेको हो । हङकङमा गरिएको प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकाले ४० चिनियाँ कम्पनीलाई प्रतिवन्ध लगाइसकेको छ ।

अघिल्लो वर्ष हङकङमा भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले त्यहाँ नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो।

शुक्रवार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ।

उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए। त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए।

चिनियाँ प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने बताएकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर