नेपालको निर्यात २० वर्षयताकै उच्च, व्यापार घाटा भने २७ प्रतिशत वृद्धि – Nepal Press

नेपालको निर्यात २० वर्षयताकै उच्च, व्यापार घाटा भने २७ प्रतिशत वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल व्यापार घाटा २७.२७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा निर्यात भने ४४.४३ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ९७ अर्ब ७ करोड थियो ।

सरकारले २० वर्षअघि नेपालको निर्यात १ खर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष २०७७/७८ को वैशाखमा आएर यो लक्ष्य पूरा भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको तेल, पाम आयल, गार्मेन्ट, धागो, अलैंचीलगायतका वस्तु निर्यात हुन्छ ।

गत आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको वस्तु विदेशबाट आयात भएको छ । २०७६/७७ मा भने यो १० खर्ब ९ अर्ब छ ।

आव २०७७/७८ मा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.२७ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटामध्ये सबैभन्दा धेरै भारतसँग ८ खर्ब ६५ अर्ब छ । त्यस्तै, दोस्रोमा चीनसँग २ खर्ब ३३ अर्ब रहेको छ ।

भारतबाट ९ खर्ब ७१ अर्ब वस्तु आयात हुँदा नेपालबाट भने १ खर्ब ६ अर्बबराबरको निकासी भएको छ । चीनसँग भने २ खर्ब ३३ अर्ब रूपैयाँको वस्तु आयात हुँदा १० अर्ब बराबरको निर्यात भएको छ । सबैभन्दा धेरै वस्तु आयातमा फलामको कच्चा पदार्थ, पेट्रोलियम पदार्थ र सवरी साधन लगायतका छन् ।

अघिल्लो आर्थिक वर्ष कोरोना महामारीको कारण वस्तु कम आयात हुँदा व्यापार घाटा घटेको थियो । जसले गर्दा विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलन बढेको थियो । व्यापार घाटा घटेको कारण वस्तु आयातमा कमी भई सरकारले उठाउने भन्सार र मूल्य अभिवृद्धि करलगायतमा कमी आएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को सोज महिनादेखि वैशाख १५ गतेसम्म आर्थिक गतिविधि चलायमान हुँदा वैदेशीक व्यापार पुनः वृद्धि भएको थियो । यद्यपि वैशाखदेखि पुन: शुरू भएको निषेधाज्ञाको कारण सरकारले लिएको लक्ष्य अनुसार भन्सार राजस्व भने प्रभावित भएको छ ।

भारतले नेपालबाट वस्तु निर्यात वृद्धि हुँदा रोक्ने गरेको छ । नेपालको व्यापार घाटा कम गर्न सहयोग गरेको पाम आयल नेपालबाट धेरै निकासी भएको भन्दै भारतले २ पटकसम्म निर्यात रोक्यो । अहिले पनि त्यो कायमै छ ।

नेपालमा भने आयात बन्देजतर्फ खासै चासो देखाउँदैन् । तर, सुपारी, मरिच, केराउ, छोकडा आयात भने अहिले रोक लगाइएको छ ।
सरकारले एन्टिडम्पिङ ल कार्यान्वयन ल्याएपछि नेपालमा नै उत्पादन हुने वस्तु आयात गर्दा अहिले भएको भन्दा थप भन्सार शुल्क तिर्नु पर्छ भने गुणस्तरीय सामानमात्रै ल्याउन पाइने छ । छलफलकै क्रममा रहेकोले उक्त कानून भने लागू भएको छैन ।

आयात, निर्यात दुवैमा वीरगञ्ज भन्सार अगाडि

आ.व २०७७/७८ मा २८ वटा भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट ५ खर्ब ११ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यसैगरी भैरवाह भन्सारबाट २ खर्ब ८१ अर्ब , बिराटनगर भन्सारबाट १ खर्ब ८९ अर्ब, सुख्खा बन्दरगाहबाट १ खर्ब ८९ अर्ब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब, नेपालगञ्ज भन्सारबाट ६८ अर्ब ९४ करोड, रसुवा भन्सारबाट १७ अर्ब, मेची भन्सारबाट ४४ अर्ब बराबरको वस्तु आयात भएको छ । त्यस्तै वस्तु निर्यात गर्ने भन्सार विन्दुहरूमध्ये वीरगञ्ज भन्सार पहिलो स्थानमा रहेको छ ।

गत आर्थिक वर्ष यस विन्दुबाट मात्रै ५३ अर्ब ७६ करोड बराबरको वस्तु निर्यात भएको छ । यसैगरी विराटनगर भन्सारबाट ३६ अर्ब ७६ करोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ अर्ब ४१ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर