विगतको सरकारले नेपालीलाई रैती बनायो,यो सरकारले किसान र मजदुरको हितमा काम गरोस्: बिडारी – Nepal Press

विगतको सरकारले नेपालीलाई रैती बनायो,यो सरकारले किसान र मजदुरको हितमा काम गरोस्: बिडारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको आरोप लगाए । उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे ।

उनले भने, ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करिव करिव ९० प्रतिशत जनताको हित हुन्छ । ति किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उनले विगतको सरकारले नेपाली नागरिकलाई रैति बनाएको पनि बताए । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उनको आरोप छ ।

नागरिकलाई विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उनले उल्लेख गरे । उनले भने,‘विगतका जम्मै सरकारले रैति बनाउन खोज्यो । जनता बनाउन दिएन । कहिले लालपूर्जा अड्काईदिन्छ । कहिले नागरिकता अड्काईदिन्छ । कहिले सिफारिस अड्काईदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काईदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ ।’

आजसम्मका सरकारले भूमिहिनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताए । भूमि सम्बन्धि समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ । प्रतिनिधि सभा पुनस्र्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर छ ।

उनले भने,‘अहिलेको अदालतको व्याख्या संसारलाई नमूना लायक छ । हामी अमेरिकाको संविधान, बेलायतको संविधान, भारत, पाकिस्तानको संविधानको नजिरहरु यहाँ पढ्दै थियौँ । अब बेलायतले नेपालको नजिर पढ्दैछ । अब संसदीय प्रणालीमा यो नजिरहरुको व्याख्या हुन्छ । र त्यसलाई साभार गरिन्छ । विश्वका अरु देशले यसलाई नमूना बनाउँदछन् ।

प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै उनले जुलुस गरेर कोरोनाको रोपाइँ गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर