स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद – Nepal Press

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।

सांसद विरोध खतिवडाले त्यसबारे छलफल गरेर टुंगोमा पुग्नलाई केहीबेरमा आफूहरू सिंहदरबारमा भेला हुन लागेको जानकारी दिए ।‘छलफल गरेर टुंगो लगाएपछि आजै स्पष्टीकरण बुझाउने कुरा छ,’ उनले नेपाल प्रेससँग भने, ‘केही साथीहरू बाहिर जानु भएकाले सबैले आजै सम्भव नहोला। उपलब्ध जतिले बुझाउँछौं ।’

एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो ।

साउन ५ गतेका मिति राखेर पठाइएको २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । स्पष्टीकरण पत्र बुझाएको २४ घण्टा पुग्ने भएकाले यसबारे आजको बैठकमा निर्णय हुन सक्ने ठानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर