फिल्म छायांकनलाई अनुमति दिने सरकारको तयारी, केही दिनमै औपचारिक निर्णय हुने – Nepal Press

फिल्म छायांकनलाई अनुमति दिने सरकारको तयारी, केही दिनमै औपचारिक निर्णय हुने

हल खुलाउनेबारे सीसीएमसीले निर्णय गर्ने

काठमाडौं । सरकारले सामाजिक दूरीको मापदण्ड पालना गर्दै फिल्म छायांकनको अनुमति दिने तयारी गरेको छ । संचार मन्त्रालयसँग यसबारे अनौपचारिक छलफल भएको र केही दिनमै औपचारिकरुपमा अनुमति दिने तयारी रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार नयाँ मन्त्री नियुक्त हुने वित्तिकै छायांकन अनुमति दिने बारे औपचारिक घोषणा हुनेछ । सरकारले अनुमति नदिएपनि अहिले फिल्म सुटिङ धमाधम हुन थालेको छ र बोर्डले सहजीकरण गरिरहेको छ । ‘सुटिङ सुरु भैसकेको छ र हामीले कुनै अप्ठ्यारो नहोस् भनेर सहजीकरण गरिरहेका छौं’ दाहालले नेपाल प्रेसलाई भने, ‘औपचारिक निर्णय भने केही दिनमै गर्ने तयारी छ ।’

कोभिड-१९ को दोस्रो लहरको रोकथामका लागि निषेधाज्ञा लागू भएसँगै फिल्म छायांकन पनि रोकिएको थियो । तर, तत्काल फिल्म हल खुल्ने सम्भावना चाहिँ छैन । यसका लागि कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निर्णय गर्नुपर्छ ।

कसरी गर्ने तयारी छ सुटिङ ?

सरकारले अहिले २५ जनाभन्दा बढी संख्यामा सार्वजनिक थलोमा भेला हुन रोक लगाएको छ । फिल्म सुटिङ गर्दा २५ जनाभन्दा कम संख्यामा कास्ट एन्ड क्रिउ उपस्थित गराएर मात्र छायांकनको अनुमति दिने तयारी छ ।

साथै, कोभिड-१९ संक्रमण फैलन नपाउने र सामाजिक दूरी पालना गर्ने लगायतका प्रोटोकल पालना गराउने प्रतिबद्धता पनि मागिने भएको छ । कम व्यक्ति उपस्थित भएर सुटिङको अनुमति दिने सरकारको तयारी छ ।

यसका लागि अध्यक्ष दाहालले मन्त्रालयमा परामर्श गरिरहेका छन् ।

सिनेमा हल कहिले खुल्नेछ ?

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड संक्रमण दर १० प्रतिशत झरेमात्र फिल्म हल खुलाइने भएको छ । अहिले संक्रमण दर २१ प्रतिशत छ । काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीका अनुसार १० प्रतिशतमा संक्रमण नझरेसम्म भीडभाड हुने थलो खुलाइनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *