सुदूरपश्चिम सरकारको नेतृत्व गर्नेबारे कांग्रेसमा छलफल, जसपालाई पनि ल्याउने तयारी – Nepal Press

सुदूरपश्चिम सरकारको नेतृत्व गर्नेबारे कांग्रेसमा छलफल, जसपालाई पनि ल्याउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । केन्द्रमा देउवा नेतृत्वमा सरकार बनेलगत्तै सुदूरपश्चिम कांग्रेस सरकारमा इन्ट्रीको लागि छलफलमा लागेको हो ।

केन्द्रमा माओवादीको साथ पाएर प्रधानमन्त्री बनेका देउवाको गृह प्रदेशमा माओवादी र कांग्रेसको संयुक्त सरकार निर्माण हुने विषयमा चर्चा शुरू भएको छ । यस विषयमा पार्टीभित्रै पनि छलफल भइरहेको कांग्रेस सांसदहरूको भनाइ छ ।

हामीले माओवादी नेतृत्वको सरकारको विरुद्धमा मत दिएनौँ त्यो बेलाबाटै गठबन्धन भइरहेको थियो उनले भने अहिले पनि सरकारमा सहभागी हुने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

५२ सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ माओवादीका १३ कांग्रेसका १२ र जनता जनता समाजवादी पार्टीका २ जना सांसद छन् । यहाँ माधव पक्षले मात्रै मुख्यमन्त्री त्रिलोचन भट्टलाई साथ दिएका थिए । कांग्रेस तटस्थ बस्दा एमालेको ओली पक्ष र जसपाले विपक्षमा मतदान गरे ।

अहिले माओवादीको सरकारमा एमाले माधव पक्षमात्रै सहभागी छन् । केन्द्रको राजनीति आधारमा प्रदेशसको सत्ता सहकार्यका विषयमा निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् ।

विगतको भन्दा राजनैतिक समीरण फेरिँदै गएको भन्दै प्रदेशमा कांग्रेस सहभागी हुने सम्भावना बढेको एक नेताले बताए । उनले शीर्ष नेतृत्वबीच पनि यस विषयमा छलफल भइरहेको जनाए ।

‘देउवा, प्रचण्ड र नेपालबीच पनि सुदूरपश्चिम प्रदेश सरकारको विषयमा छलफल भइरहेको छ । हामीले प्रदेश सरकारले गति पाउन नसकेको भन्दै आइरहेका छौँ’, कांग्रेसका एक नेताले भने, ‘बाँकी रहेको समयमा सरकार सहमतिको आधारमा परिवर्तन गर्ने विषयमा कुरा भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपा एक भएर मत दिएको छ त्यसैले प्रदेश सरकारमा पनि जसपा सहभागी हुन सक्छ । हामी त्यसको लागि छलफल गरिरहेका छौँ ।’

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले नेतृत्व पाउने गरि शीर्ष नेताहरूबीच कुरा भइरहेको जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले सरकारमा सहभागिताबारे छलफल भइरहेको बताए । तर, कुनै निर्णय हुन नसकेको उनको भनाइ छ । ‘छलफल भएको छ तर, पार्टीले निर्णय गरेको छैन’ उनले भने ‘केन्द्रले जे निर्णय गर्छ यहाँ त्यही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर