ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं – Nepal Press

ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरू गर्ने भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको बताए ।

ओलीले भने, ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला शुरू गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो । माओवादी शिथिल छ तर ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’

देउवाले २०४८ सालदेखि नै एमालेमाथि दमनकारी नीति लिएको र ७ वर्ष बालकदेखि धेरैको हत्या गरेको भन्दै ठूलो दमनचक्र चल्न सक्ने ओलीले बताए ।

ओलीले प्रधानमन्त्री देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको पुतलीजस्तै रहेको बताए । ओलीले एमालेमाथिका सम्भावित आक्रमणविरुद्ध लड्न जुझारु संगठनको विकल्प नरहेको बताए ।

उनले भने, ‘एमाले चिचिलो काँक्रोजस्तो अरुले औंला ठडाएर देखाउँदा झरेर जाने चिज होइन, जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर