गृहमन्त्रीलाई बाल अभियन्ताको सुझाव- जघन्य अपराधबाट देशलाई जोगाउनुस् (भिडियाे) – Nepal Press

गृहमन्त्रीलाई बाल अभियन्ताको सुझाव- जघन्य अपराधबाट देशलाई जोगाउनुस् (भिडियाे)

काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाएका छन् ।आज गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाएको हो ।

समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अपराधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सिकाउन र कडा कानून बनाएर अपराधीलाई कारबाही गर्नुपर्ने बताए ।

प्रहरी हाम्रो साथी भन्ने कुरा बालबालिकालाई बुझाउन आवश्यक छ, रेग्मीले भने, अहिले त हामी जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा निस्किन डर लाग्छ, यो डर भगाउने गरी सरकारले कडा कानून ल्याएर काम गनुपर्यो ।

त्यस्तै गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताएका छन् । सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताए ।

राज्यको निर्माण नै नागरिकको जीवन रक्षाको लागि हो, गृहमन्त्री खाँडले भने, राज्य प्रणालीमा भएका कमीकमजोरीलाई सुधार्दै सुरक्षास्थितीलाई बलियो र सुदृढ बनाउने प्रयासमा सरकार लागेको छ ।

सरकार र नागरिकको हातेमालोले मात्रै यस्ता पीडाबाट मुक्त गर्न सकिने भन्दै मन्त्री खाँडले बालबालिकाहरुका लागि विद्यालयमा सामुदायिक सुरक्षा कार्यक्रम ल्याएको समेत स्मरण गराए । पाठ्यक्रममै यसबाट बच्ने उपाय राख्न सके आउँदो जेनेरेशनमा अपराध मुक्त र सुन्दर नेपाल बन्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *