पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने – Nepal Press

पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने

काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।

दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’

अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू आज अस्पताल पुगेको दिपाश्रीले बताइन् ।

‘उहाँले यतिबेला हिम्मत हार्नुभएको छ, मसित अब बाँच्दिन भनेर निकै बिलौना गर्नुभयो,’ दिपाश्रीले भनिन्, ‘उहाँलाई सबै दर्शकको हौसला र सहयोगको आवश्यकता छ ।’

पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

पल्पसा केही समयअघिसम्म अभिनयमा सक्रिय नै थिइन् । उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् । लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर