मेटमणीको दावी : देउवालाई विश्वासको मत दिन्छौं, सरकारमा सहभागी हुन्छौं – Nepal Press

मेटमणीको दावी : देउवालाई विश्वासको मत दिन्छौं, सरकारमा सहभागी हुन्छौं

माधव नेपाललाई दलको नेता र सुवास नेम्वाङलाई अध्यक्ष मान्न तयार भएमात्र एमाले एकता

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई संसदीय दलको नेता र केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने बताएका छन् ।

एमाले माधव समूहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा चौधरीले भने- पहिलो शर्त भनेकै माधव कमरेडलाई संसदीय दलको नेता र सुभाष नेम्वाङ कमरेडलाई अध्यक्ष मानेर जाने कुरा हो, त्यो मान्न तयार नभए हामी बृहत कम्युनिष्ट एकता गरेर जाने विषयमा पनि छलफल चलेको छ ।

आफूहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको भन्दै उनले वर्तमान सरकारलाई विश्वासको मत दिएर पूरै अवधि चल्न दिने र आफ्नो समूह सरकारमा सहभागी हुने बताएका छन् ।

उनले भने,‘हाम्रो (एमाले माधव समूहको) चट्टानी अडानकै कारण संसद बाँचेको छ, संविधानको रक्षा भएको छ, हाम्रो बर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत रहन्छ ।’

चौधरीले एमालेको तर्फबाट सरकारलाई विश्वासको मत दिने सांसदको संख्या ५० जनाको हाराहारीमा पुग्ने विश्वास व्यक्त गरे । साँसद चौधरीले एमालेभित्र वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा छलफल चलाइरहेको र आफूहरुको पक्षमा साँसदहरु बढ्दै गइरहेको दाबीसमेत गरे ।

आफूहरु पार्टी विभाजनको पक्षमा नरहेपनि अहिलेकै अवस्थामा अब पार्टी एकता सम्भव नरहेको तर्क उनले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर