महन्थ पक्षका तीन सांसद उपेन्द्र क्याम्पमा, प्रमोद साह भन्छन्- हामी ६/७ जना छौं – Nepal Press

महन्थ पक्षका तीन सांसद उपेन्द्र क्याम्पमा, प्रमोद साह भन्छन्- हामी ६/७ जना छौं

काठमाडौं । सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको महन्थ ठाकुर पक्षका तीनजना सांसद उपेन्द्र यादवतिर खुलेका छन् ।

सर्लाहीबाट निर्वाचित प्रमोद साहसहित समानुपातिक सांसद अमृता अग्रहरी र रानी मण्डल उपेन्द्र समूहमा लागेका छन् । त्यस्तै राजेन्द्र महतोनिकट नरमाया ढकालसमेत सो समूहमा अशन्तुष्ट छिन् । शुक्रबार ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठकमा यी कुनै पनि सांसद सहभागी भएनन् ।

अरु केही सांसद यादव पक्षसँग सौदाबाजीमा रहेको जसपा स्रोतले जनाएको छ । जसपाका नेता राजकिशोर यादवसमेत ठाकुर समूहमा अशन्तुष्ट छन् । तर उनी उपेन्द्र यादव पक्षमा पनि लागेका भने छैनन् ।

यादव पक्षमा लागेका प्रमोद साहले आफूहरु कम्तिमा ६ जना सांसदबीच यादव पक्षमा लाग्ने बारे सल्लाह भइरहेको बताए । तर राजकिशोरसँग भने आफूहरुको कुरा नभएको उनले जानकारी दिए ।

साहले भने- ठाकुरजीहरु लोकतन्त्र सिध्याउन लाग्नुभयो । राजावादीसँग मिल्नुभयो । केपी ओलीलाई नेता मानेर हिँड्नुभयो । त्यसैले हामीले साथ दिन सकेनौं । मसहित ६/७ जना साथीहरु उपेन्द्रजीसँग लाग्ने तयारीमा छौं ।

जसपाका ३४ मध्ये २ जना सांसद निलम्बित छन् । बाँकी ३२ मध्ये राष्ट्रपति समक्ष जाने बेला उपेन्द्र यादव पक्षका १२ जना सांसदले शेरबहादुर देउवालाई समर्थन जनाएका थिए भने ठाकुर-महतोको पक्षमा २० जना सांसद थिए ।

यसबीचमा मन्त्री बन्न नपाएपछि केही सांसद रुष्ट थिए । जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाउने बेलासम्म संसदीय दलमा पनि आफ्नो बहुमत पार्ने प्रयास उपेन्द्र पक्षको छ ।

आधिकारिकता विवाद टुंगिएपछिमात्र सरकारमा सहभागी हुने रणनीति पनि ठाकुर पक्षका सांसदलाई तान्नका लागि रहेको स्रोतको भनाइ छ । मन्त्री बनाउने आश्वासन दिएर ठाकुर पक्षका केही सांसद तान्ने र दल विभाजनको प्रक्रिया टुंगिएपछि ती सांसदले अर्को पार्टीमा जान नपाउने भएकाले यादव पक्ष तत्काल सरकारमा नगएको हो ।

ठाकुर पक्षमा आधा दर्जन सांसदसँग छलफल चलिरहे पनि हालसम्म तीन जनाले मात्र कित्ता परिवर्तन गर्न सहमति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर