एमालेलाई अघि बढाउँदै ओली, देउवालाई विश्वासको मत दिए माधवको लागि बाटो बन्द – Nepal Press

एमालेलाई अघि बढाउँदै ओली, देउवालाई विश्वासको मत दिए माधवको लागि बाटो बन्द

काठमाडौं। करिब ४१ महिना सरकारको नेतृत्व गरेर बाहिरिएको तीन दिनपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दुई वटा बैठक राखे ।

पार्टी भित्रको विवाद मिलाउन गठित कार्यदलले १० बुँदे सहमतिको मस्यौदा बनाएको सन्दर्भमा पार्टी एकता जोगाउन भन्दै माधव नेपाल पक्षका कार्यदल सदस्यहरुले दुवै बैठक रोक्ने पहल हिजैदेखि गरेका थिए ।

तर, ओलीले अब पार्टी अगाडि बढ्ने छनक दिँदै स्थायी कमिटी र संघीय संसदीय दलको बैठक बोलाए र निर्णय गराए । स्थायी कमिटीको बैठक स्थल तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न गरेको आग्रहका बाबजुत पनि ओलीले बैठक अगाडि बढाए ।

नेपाल पक्षका कार्यदल संयोजक भीम रावलको यो भनाइबाट थाहा लाग्छ ओली पार्टीलाई विवादका नाममा थम ‘अलमल्याउन’ चाहँदैनन् । बैठकको सप्रसंगसहित संचारमाध्यममा रावलको भनाइः

‘एकतालाई अगाडी बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरुले गम्भिर रुपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमती गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौँ । स्वयं पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरुले हामीलाई झनै अप्ठ्यारो परेको छ । त्यसकारण अलिकति हामिलाई समयको आवश्यकता पर्‍यो । यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौँ । अनौपचारिक कुरा गरौँ । पार्टी अध्यक्ष र बरिष्ठ नेताको बिचमा शीर्ष तहमा कुराकानी गर्ने, हामीहरु बीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमती गरेका थियौँ, तदनुकुल अगाडि जाने कुरातर्फ अगाडी जाउँ भनेर उहाँहरुलाई हामीले आग्रह गर्‍यौँ । पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडी बढाउनुस् भनेपछि हामीले भन्यौँ, हाम्रो बैठकमा सहभागिता छैन । हामी हिड्यौँ भनेर हिड्यौँ ।’

ओलीले नेपाल पक्षका कार्यदल सदस्यहरुको खासै कुरा सुनेनन् तर निर्णय भने बैठकबाट अनुमोदन गराए । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले संचारमाध्यमलाई दिएको जानकारी र त्यसपछि जारी गरिएको विज्ञप्ति अनुसार यसबारे आजको बैठकमा तीन निर्णय भए ।

पहिलो, कार्यदलले तयारको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने । दोस्रो, प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने र, तेस्रो कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कार्यदलमा रहेका सदस्यहरुलाई धन्यवाद दिने र कार्यदल विघटन गर्ने । त्यस्तै बैठकले प्रतिक्षमा रहने, शेरबहादुर देउवा सरकारलाई विश्वासको मत नदिने र आफ्नो पार्टीका कुनै पक्षले विश्वासको मत दिए त्यो पार्टीको नभइ व्यक्तिगत हुने ।

‘पार्टीको अबको भूमिकाका सम्बन्धमा देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै अब नेकपा (एमाले) ले सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ,’ पार्टीका निर्णयबारे जानकारी गराउन जारी विज्ञप्तिमा भनिएको छ, ‘अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने ।’

स्थायी कमिटी बैठकपछि दिउँसो तीन बजे बानेश्वरमा राखिएको संघीय संसदीय दलको बैठबाट पनि ओलीले पार्टी प्रतिपक्षमा रहने, देउवा सरकारलाई विश्वासको मत नदिने र सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गराएका छन् । यी दुवै बैठकमा नेपाल पक्षको सहभागिता भएन ।

कार्यदलले जुटाएको सहमति ग्रहण गर्ने तर बैठक रोक्न तीनै कार्यदल सदस्यले गरेको पहल र आग्रहलाई नमानेर ओलीले अब पार्टी अघि बढ्ने र नेपाल पक्षलाई धेरै नकुर्ने प्रष्ट सन्देश दिएका छन् ।

एमालेले कार्यदलको प्रस्तावलाई ‘सिर्जनात्मक र रचनात्मक’ ढंगले कार्यान्वयन गर्ने भनेको छ । तर, कार्यदल सदस्यहरुलाई नै विश्वासमा नलिइ गरिने कार्यन्वयन कति भरपरर्दो होला भन्ने प्रश्न छदैछ । अर्कातिर स्वयं माधव नेपालले समेत कार्यदलले तयार पारेको सहमतिको मस्यौदाको अपनत्व लिएका छैनन् ।

देउवा सरकारलाई विश्वासको मत दिने अडान नेपाल पक्षले दोहोर्याइरहेको छ । ह्वीप नलाग्ने सर्वोच्च आदालतको आदेशका कारण ओलीले उनीहरुलाई कारबाही त गर्न सक्ने छैनन् तर यसले पार्टी एकताको प्रयासलाई थप टाढा धकेल्ने छ । संस्थापन पक्षले प्रष्ट रुपमा भनेको छ कि देउवालाई विश्वासको मत दिनेहरु एमाले हुन सक्दैनन् र एमालेमै रहन दिइन्न । बालकोट सरेको दिन ओलीले नेपाललाई पार्टीको ‘राजनीतिक गद्धार’ घोषित गर्दै नेता नेपाललाई पार्टीमा ठाउँ नभएको बताएका छन् ।

ओलीले नेता नेपाललाई पार्टीमा भित्र्याउने रुची राख्दैनन् भन्ने प्रष्ट हुन्छ । ‘समूहसँग संवाद नगर्ने, व्यक्तिसँग डिल गर्ने’ रणनीति अनुसारै ओलीले नेपाल पक्षका नेताहरुसँग व्यक्तिग संवाद गरेर उनीहरुलाई पार्टीमा राखिराख्न भने प्रयत्न गरिरहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर