१२ भवनसहितको नयाँ संसद भवन निर्माणाधीन, बगैंचादेखि बंकरसम्म बन्दै (फोटो/भिडियो) – Nepal Press

१२ भवनसहितको नयाँ संसद भवन निर्माणाधीन, बगैंचादेखि बंकरसम्म बन्दै (फोटो/भिडियो)

काठमाडौं । दुई वर्षअघि तीन वर्षमा सम्पन्न गर्ने गरी बनाउन थालिएको अत्याधुनिक संसद भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सिंहदरवारमा निर्माण भइरहेको सरकारी संसद भवन निर्माणको काम कोरोनाका कारण भएको निषेधाज्ञाबीच पनि जारी रह्याे । यद्यपि, कोरोनाका कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीले सरकारसँग म्याद थपका लागि आग्रह गरिरहेको छ ।

निषेधाज्ञाकाललाई शून्य अवधि मानेर म्याद थपको माग गरिरहेको निर्माण कम्पनीले मजदुरलाई निर्मालस्थलमै खानेबस्ने व्यवस्था गरेर काम गरिरहेको छ । कोरोना संक्रमणदर तीव्र भएका बेला पनि मजदुरको स्वास्थ्योपचारको जिम्मा लिएर कम्पनीले निर्माण कार्यलाई निरन्तरता दिएको हो ।

२०७६ साल असोज १६ गते चिनियाँ र नेपालीको संयुक्त कम्पनी एसएचईसी र टुण्डीले अत्याधुनिक संघीय संसद भवन तीन वर्षमा बनाइसक्ने गरी सम्झौता गरेको थियो । तर यसअघि पहिलो चरणको लकडाउनका कारण काम प्रभावित भएको भन्दै निर्माणका लागि ६ महिना म्याद थप गरिएको छ ।

निर्माण कम्पनीले पहिलो चरणको भन्दा दोस्रो चरणको लकडाउनले बढी असर गरेको भन्दै फेरि म्याद थप्न आग्रह गरिरहेको छ । कम्पनीले लकडाउनको समयलाई शून्य समय मानेर म्याद थप्न आग्रह गरेको हो ।

भ्याटबाहेक ५ अर्ब २ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी संसद भवन निर्माण सम्झौता भएको थियो ।

अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद सञ्चालन भइरहेको छ । निर्माण सम्पन्न भइसकेपछि संसद नयाँ सरकारी भवनमा सर्नेछ ।

कस्तो बन्दैछ अत्याधुनिक संघीय संसद ?

संसद भवनको निर्माण आयोजनाका सहायक निर्देशक तथा सिनियर सिभिल इन्जिनियर हिमाल केसीका अनुसार सिंहदरवारको उत्तरपूर्वी भेगमा करिब १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भइरहेको छ ।

यहाँ संघीय संसद भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । यहाँ बफरजोन र उत्तरतिर फराकिलो सडक दायाँबायाँ रुखहरु रोपिनेछ । यो भवन परिसर छिर्नका लागि चार वटा गेट हुने पनि उनले बताए ।

निर्माणाधीन संसद भवनका परामर्श दाता प्रमुख ईन्द्रबहादुरका अनुसार राष्ट्रियसभा र संसद भवन अढाइ तला र सेन्टर लभी ३ तलाको हुनेछ भने अरु ३, ४ र ५ तलाको हुनेछ ।

भवनभित्र पस्दा गाडी र सामानको स्क्यान हुनेछ, जसले सुरक्षालाई मजबुत बनाउँछ । त्यस्तै सुरक्षाका लागि चार घेरा निर्माण हुनेछ ।

भवन सात रेक्टरस्केलसम्मको भूकम्पले ढाल्न नसक्नेगरी बनाइँदैछ । त्यस्तै उक्त भवन बमप्रतिरोधी हुनेछ । निकै शक्तिशाली बम प्रहार भएमा सांसदहरुको सुरक्षाका लागि बंकर(लुक्ने ठाउँ)समेत निर्माण भइरहेको छ ।

नेपाली मौलिक डिजाइनमा बन्ने भवनमा आगलागी वा विद्युत् सर्ट भएमा तत्काल जानकारी हुने प्रविधि जडान हुनेछ । विपद्का बेला भवनभित्रै खान-बस्न मिल्नेगरी भवनको निर्माण भइरहेको श्रेष्ठले बताए ।

अहिलेसम्म भवन निर्माणको ३५ प्रतिशत भौतिक प्रगति भएको छ भने आर्थिक प्रगाति २८ प्रतिशत भएको छ । कतिपय भवन बन्दै छन् भने कतिपयमा फिनिसिङको काम भइरहेको छ । निषेधाज्ञा नभइदिएको भए अहिलेसम्म ५० प्रतिशत काम सकिइसक्ने केसीले बताए ।

कोरोना र निषेधाज्ञाका कारण काम प्रभावित

कोरोना र निषेधाज्ञाका कारण अपेक्षा गरेजति द्रुत गतिमा काम अघि बढाउन नसकिएको बताउँछन्, आयोजनाका सहायक निर्देशक केसी । निषेधाज्ञाका समयमा निर्माण सामग्री ढुवानीका लागि सवारीचालक पाउनसमेत मुस्किल भएको उनले बताए ।

चिनियाँ र नेपालीको संयुक्त कम्पनी टुण्डी भेन्चरका डेपुटी प्रोजेक्ट म्यानेजर राजेश महर्जनले आमचासोको विषय भएकाले भवन निर्माणलाई महत्वका साथ तीव्रता दिइएको बताए । सम्झौतामा उल्लेख मितिभन्दा पहिल्यै कामसक्ने योजना भए पनि कोरोनाका कारण गाह्रो परेको उनको भनाइ छ । यद्यपि, निर्धारित समयमा काम सक्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

निषेधाज्ञाको हल्ला चल्नुभन्दा पहिल्यै निर्माण सामग्री जोहो गरेका कारण काम रोक्न नपरेको उनको भनाइ छ ।

उनले अहिले बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म काम भइरहेको बताए । ‘अहिले चार सय मजदुर र एक सय कर्मचारीलाई निर्माणस्थलमै बस्ने व्यवस्लथा गरेर काम भइरहेको छ’ महर्जनले भने, ‘तीन सिफ्टमा काम गरेर भए पनि समयमै निर्माण सक्ने विश्वास छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर