दोस्रो लहर कोरोनाको हटस्पट बनेको लुम्बिनीमा घट्यो संक्रमणदर, मृत्यु शून्य – Nepal Press

दोस्रो लहर कोरोनाको हटस्पट बनेको लुम्बिनीमा घट्यो संक्रमणदर, मृत्यु शून्य

रुपन्देही । दोस्रो चरणको कोरोना महामारीको हटस्पट बनेको लुम्बिनीमा अहिले संक्रमण दरसँगै मृत्युदर पनि घटेको छ । आइतबार र सोमबार कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशभर कसैको मृत्यु भएको छैन । चैतमा दोस्रो लहर शुरु भएयता प्रदेशमा संक्रमितको दैनिक मृत्युदर पहिलो पटक शुन्यमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणदर तीव्र भएको बेला वैशाखको अन्तिम साता मृत्युदर निकै उच्च थियो । त्यसबेला लुम्बिनी प्रदेशमा दैनिक ५० को आसपासमा संक्रमितको मृत्यु हुने गरेको थियो । जेठको पहिलो सातादेखि मृत्युदर केही घट्न थालेको थियो ।

असार लागेपछि दैनिक मृत्युदर १० वा त्यो भन्दा कम छ । असार ७ गते १० जना र १४ गते ९ संक्रमितको मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा हालसम्म २ हजार ४५ जनाको मृत्यु भइसकेको छ । जसमा १ हजार ७ सय पीसीआरबाट पुष्टि भएका हुन् भने ३ सय ४५ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको थियो ।

दोस्रो लहरमा रुपन्देही सबैभन्दा बढी प्रभावित जिल्ला बनेको थियो । वैशाख ३० गते मात्र रुपन्देहीमा १८ जना संक्रमितको मृत्यु भएको थियो । त्यो दिन सक्रिय संक्रमितको संख्या साढे ७ हजार थियो ।

त्यसपछि बाँके जिल्लामा पनि संक्रमणदर र मृत्युदर उच्च थियो । प्रदेशका अरु जिल्ला पनि कोभिडको दोस्रो लहरबाट प्रभावित भएका थिए । वैशाख र जेठ महिनामा संक्रमितको लागि अस्पतालमा बेड पाउन पनि निकै गाह्रो भएको थियो । बेड र अक्सिजन नपाएर धेरै संक्रमितले ज्यान समेत गुमाएका थिए ।

मृत्युदरसँगै संक्रमणदरमा पनि कमी आएको छ । अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका केही स्थानमा नयाँ प्रजातिको कोरोना भाइरस पनि भेटिएकाले थप सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर