सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड – Nepal Press

सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड

कैलाली । तेस्रो लहरको कोरोना संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागि तयारी थालेको छ ।

प्रदेश सरकारले तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै अस्पतालहरूलाई त्यहीं अनुसारको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।

प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको व्यवस्थापन गर्न भनिएको छ ।

कञ्चनपुरको महाकाली र टिकापुर अस्पतालमा बलमैत्री छुट्टै अस्पताल निर्माण कार्यसमेत सुरु भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेती अस्पतालमा भने दुई वटा अस्थायी कोरोना अस्पताल तयार हुने भएका छन् । एउटा हाल सञ्चालनमा रहेको छ भने अर्काे थप हुने भएको छ ।

‘निर्माणाधीन कोरोना अस्पतालमा अन्य कोरोनाका विरामीलाई राखिने छ ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘पहिले तयार भइसकेको कोरोना अस्पतालमा बालबालिकाको लागि व्यवस्थापन गरिने छ ।’

सेती अस्पतालले माग्यो ५ करोड

सेती प्रादेशिक अस्पतालले तेस्रो लहरको कोरोनाबाट जोखिम कम गर्न प्रदेश सरकारसँग ५ करोड रकम माग गरेको छ ।

मन्त्रालयले असार ६ गते तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुने भन्दै सेती अस्पताललाई आवश्यक संरचनाको अवस्था र लागत रकमबारे परिपत्र मगाएको थियो ।

जवाफमा अस्पतालले २५ शय्याको आइसोलेसन भवन, सीसी क्यामेरा, अक्सिजन पाइपलाइन, आवश्यक जनशक्ति र उपकरणको लागि ४ करोड ९६ लाख २५ हजार ५८० रुपैयाँ माग गरेको हो । उपचार कक्ष निर्माण र उपकरण जडान गर्न रकम माग गरिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा ९ बेडको एनआईसीयू रहेको छ । उक्त संख्या बढाएर २५ बनाउने लक्ष्य रहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले कम्तीमा ४० शय्याको बनाउन परिपत्र गरेको छ । तर अस्पतालले ५० शय्यासम्मको व्यवस्था गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर