कर्णालीमा यस वर्ष ३३७ ले गरे आत्महत्या, बेरोजगारी प्रमुख कारण – Nepal Press

कर्णालीमा यस वर्ष ३३७ ले गरे आत्महत्या, बेरोजगारी प्रमुख कारण

सुर्खेत । कर्णाली प्रदेशका अधिकांश नागरिक ज्याला मजदुरीका लागि भारत जाने गर्छन् । पछिल्लो समय कोरोनाका कारण भारतमा रोजगारी नपाएपछि धेरै युवा गाउँ फर्केका छन् । तर, गाउँमा रोजागरी नपाएर तनाव बढेपछि कर्णालीका युवाले आत्महत्या गर्नेक्रम पनि बढेको बताउँछन्, प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी अर्जुन चन्द ।

चालु आर्थिक वर्षमा कर्णालीमा ३३७ जनाले आत्महत्या गरेका छन् । ती मध्ये पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । कर्णालीमा यो वर्ष २५९ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ । विष खाएर ७० जनाले आत्महत्या गरेका छन् भने हाम फालेर सात जनाले ज्यान गुमाएका छन् । हतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुको संख्या सबैभन्दा धेरै सुर्खेतमा रहेको प्रदेश प्रहरी कार्यालय जनाउँछ । कार्यालयका अनुसार सुर्खेतमा यो आर्थिक वर्षमा १२० जनाले आत्महत्या गरेका छन् भने सल्यानमा ६८ जनाले आत्महत्या गरेका छन् । दैलेखमा ५४ जना, जाजरकोटमा २६ जना, रुकुम पश्चिममा ३१ जना, जुम्लामा १४ जना हुम्लामा तीन जना, मुगुमा पाँच जना र कालिकोटमा १६ जनाले आत्महत्या गरेका छन् ।

कर्णालीमा आर्थिक वर्ष २०७४/०७५ मा २५५ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७५/०७६ मा २५० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा २८६ जनाले आत्महत्या गरेका थिए ।

मानसिक रोग परामर्शकर्ता डाक्टर सुशील समदर्शी कोरोनाका कारण आत्महत्या बढाएको बताउँछन् । ‘कोभिड संक्रमणको डर बढी भयो । यसकारण नागरिक घरभित्रै बस्न बाध्य भए । घरमा लामो समय बस्दा आर्थिक अभाव भयो, उनीहरुमा उदासीपना बढ्यो’ उनी भन्छन्’, ‘उदासीपनाले ८० प्रतिशतले आत्महत्या गरेका छन् भने बाँकी दीर्घरोगीहरु छन् ।’

उनले आत्महत्या कम गर्न जनचेतना अभिवृद्धि गर्नुपर्ने र आत्मविश्वास बढाउनुपर्नेमा जोडि दिए । उनी भन्छन्- समयमै परामर्श दिन सके ७० प्रतिशत आत्महत्या रोक्न सकिन्छ ।

लागू पदार्थ सेवन र घरेलु हिंसा कम गर्न सके पनि आत्महत्यामा कमी आउने उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *