मनाङका बाढीपहिरो पीडितलाई आएन सरकारबाट राहत – Nepal Press

मनाङका बाढीपहिरो पीडितलाई आएन सरकारबाट राहत

मनाङ । हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ ।

बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ । अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका-४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताए । ‘बाढीपहिरोपछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौँ, घर बाढीपहिरोले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ ।

गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ । यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो । एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो’, उनले भने, ‘यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन । राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन् ।’

उनले भने, ‘न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले । अहिलेसम्म जसोतसो चलिरहेको छ । बस्न र खानका लागि धौ-धौ भएको बेलामा सरकारले कुनै चासो देखाएन । सरकार नै नभएको महसुस भएको छ ।’ आफैँले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ । यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरो पीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताएका छन्। बाढीपहिरो पीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हामीले कुनै पनि बाढीपहिरो पीडितलाई छुट्याएका छैनौं । व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौँ । जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ । व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन । सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौँ ।’

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले अर्बौको भौतिक क्षति पुर्‍याएपछि यतिबेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरूपमा प्रभावित भएको छ । नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर