ट्विनी गर्ल्स भन्छन् : विहे भएपनि हाम्रो टीकटक जोडी अलग हुँदैन – Nepal Press

ट्विनी गर्ल्स भन्छन् : विहे भएपनि हाम्रो टीकटक जोडी अलग हुँदैन

'फ्यानबाट पैसा र गिफ्ट लिँदैनौं '

काठमाडौं । एक दशक भयो नेपालमा सामाजिक संजालको प्रभुत्व स्थापित भएको । त्यसयता फेसबुक, युट्युव, टीकटकजस्ता सोसल साइट्सहरु व्यापक प्रयोगमा छन् । चिनियाँ भिडियो साझेदारी एप टीकटक नेपालमा सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारणसम्मले टीकटकको उपयोग गरिरहेका छन् । टीकटक प्रयोगबाटै नेपालमा ओभरनाइट सेलेव्रिटी भएकाहरु प्रशस्तै छन् ।

टीकटक सूचना, संचार, मनोरञ्जन, पैसा कमाउनेदेखि भाइरल हुनेसम्मको थलो बनेको छ । सेलेव्रिटी झगडा गर्नेदेखि नेताहरुलाई व्यंग्य गर्नेसम्मको हर्कत यसमा हुने गरेको छ । कतिपयले कला प्रस्फुटन गर्नेदेखि नृत्य, अभिनयलाई तिखार्ने अवसरको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । कतिपय चाहिँ भाइरल बनिरहेका छन् ।

सुरुमा १५ सेकेण्डको भिडिओ अपलोड गर्ने सुविधा दिएको टीकटकले यसैसातादेखि ३ मिनेटसम्मको सुविधा दिएको छ । यस्तोमा मोबाइलको पहुँच भएकाहरुले विभिन्न शैलीमा भिडियो हालेर र लाइभ आएर आफूलाई चर्चित तुल्याएका छन् ।

प्रिन्सी र प्रिज्मा खतिवडा टीकटकका यस्तै चर्चित अनुहार हुन् जसलाई झन्डै ७० लाखले पछ्याएका छन् । तीनवर्षदेखि टीकटकमा भिडिओ बनाउन सुरु गरेको यो जोडी पछिल्लो समय म्युजिक भिडिओमा पनि उत्तिकै चर्चित छ । टीकटकले निर्माण गरेको छविलाई उनीहरुले व्यवसायिक प्रवद्र्धनमा समेत उपयोग गर्न थालेका छन् ।

को हुन् प्रिन्सी र प्रिज्मा ?

तीनवर्षअघि टीकटकमा भिडिओ हाल्न थालेको यो जोडी छोटो समयमै चर्चित बन्यो । ट्विनी गल्र्सको रुपमा टीकटकमा रहेको उनीहरुको खातालाई ६९ लाखले पछ्याएका छन् भने ७३ लाखले भिडिओमा लाइक गरेका छन् । उनीहरु मुलुकमै धेरै हेरिने र पछ्याइने सेलेव्रिटीमध्ये पर्छन् । खास नाम प्रिन्सी र प्रिज्मा खतिवडा भएपनि उनीहरु ट्विनी गल्र्स नामले चर्चित छन् । उनीहरु एकैसाथ टीकटक बनाउँछन् र पोस्ट गर्छन् । प्रयोगकर्ताले उनीहरुको भिडियोलाई रुचाएका पनि छन् ।

‘हामी सामान्य मान्छेबाट यहाँसम्म आइपुग्नुमा टीकटक प्लेटफर्मकै योगदान छ’ प्रिज्मा भन्छिन्, ‘हामी आफूहरुलाई भाग्यमानी ठान्छौं । हामी दुईजना सुरुदेखि नै सँगै आएकाले अलग भएर काम गर्ने बारेमा सोचेका छैनौं ।’

उनीहरुले पहिलो टीकटक सन् २०१८ को अगस्ट १६ घरपालुवा बिरालोसँग बनाएका थिए । उक्त भिडिओलाई ३.२ मिलियनले हेरेका थिए । दास्रो भिडिओ १२ दिनपछि अपलोड गरेका थिए जसलाई ३.५ मिलियनले हेरे । राम्रो प्रतिक्रिया मिलेपछि अन्य थुप्रै भिडिओ बनाएर उनीहरुले कलालाई प्रस्तुत गरे । टीकटकमा कमेडी भिडिओ र नृत्य प्रस्तुत गर्ने गरेका छन् ।

टीकटक रहेसम्म हामी सँगै

जुम्ल्याहा दिदीबहिनीको यो सहकार्य कहिलेसम्म रहन्छ त ? नेपाल प्रेसको यो प्रश्नमा प्रिज्माले टीकटक रहेसम्म आफूहरुसै हुने बताइन् । ‘उनले यति छोटो समयमा हामी चर्चामा आउँछौ भनेर सोचेको थिएनौं । हामी दर्शकहरुलाई टीकटक रहेसम्म निराश बनाउने छैनौं’ उनले भनिन् ।

सुरुवातमा मनोरञ्जनको लागि भिडिओ बनाउने दिदीबहिनी अहिले भने व्यवसायिक उद्देश्यले लागिपरेका छन् । उनीहरु टीकटकबाटै हुने व्यापारिक प्रवद्र्धनबाट मनग्गे आम्दानी पनि गर्छन् ।

‘हामी सामान्य मान्छेबाट यहाँसम्म आइपुग्नुमा टीकटक प्लेटफर्मकै योगदान छ’ प्रिज्मा भन्छिन्, ‘हामी आफूहरुलाई भाग्यमानी ठान्छौं । हामी दुईजना सुरुदेखि नै सँगै आएकाले अलग भएर काम गर्ने बारेमा सोचेका छैनौं ।’

उनीहरु कसरी बनाउँछन् टीकटक भिडिओ ?

सुरुमा टीकटकका लागि भिडिओ बनाउँदा ब्रान्डको कामबारे आइडिया नहुने भएपनि अहिले चाहिँ उनीहरु आरामदायी ढंगले र सबैलाई रुचि हुने शैलीमा भिडिओ बनाउने बताउँछन् । ‘डान्सको स्टेप, कन्सेप्ट र कुनै स्टोरी निकाल्ने कुरामा हामी दुईजना बसेर छलफल गर्छौं’ उनी भन्छिन् । उनीहरु टे«न्डिङमा रहेका गीतमा भिडिओ र सबैलाई कम्फर्टेवल हुने खालका गीतमा मात्र भिडिओ बनाउँछन् । सोही कारण सबै उमेर समूहका मानिसहरुमा उनीहरु लोकप्रिय छन्

उनीहरु गीतमा चुजी छन् । जस्तै, ट्रेन्डिडङमा हिपहप गीत छ भने उनीहरु यसमा भिडिओ बनाउँदैछन् किनभने उनीहरु आफूलाई हिपहपमा डान्स नआउने बताउँछन् । कुन गीतमा भिडिओ बनाउने भन्नेबारे उनीहरु बसेर छलफल गर्छन् र कोरियोग्राफी तय गर्छन् ।

टीकटक बनाएबापत फ्यानबाट पैसा लिने गरेको हल्लालाई प्रिज्माले खण्डन गरिन् । ‘हामी जे छौं, फ्यानको कारणले भएका हौं’ प्रिज्मा भन्छिन्, ‘टीकटक बनाउँदा पैसा लिने भन्ने कुरा गलत हो ।’ सेलेव्रिटी भएपछि फ्यानहरुले पनि गिफ्ट र पैसा दिने गरेपनि उनीहरु यस्तो अफरलाई स्वीकार नगर्ने बताउँछन् । आफूहरुले पैसाका लागि भन्दा पनि सम्मान र मायाका लागि काम गरेको उनीहरुको भनाई छ ।

टीकटकपछि फिल्मको यात्रा

सामाजिक संजालमा हिट हुने सेलेव्रिटी अक्सर ठूलो पर्दामा डेब्यु गर्ने आमप्रचलन छ । म्युजिक भिडिओदेखि फिल्मसम्म उनीहरुलाई अफर आउने गरेको छ । तर, ट्विनी दिदीबहिनी आफूहरु अहिलेसम्म यस्तो प्रस्तावका लागि मानसिकरुपमा तयार नभैसकेको बताउँछिन् ।

‘यो सांगीतिक क्षेत्र कति समय जान्छ थाहा छैन । सँधैका लागि यो नरहने भएकोले अहिलेसम्म मुभी र सिरियलको लागि आत्मविश्वास बनाएका छैनौं’ उनको कथन छ । उनले भनिन्- ‘सुरु-सुरुमा चाहिँ अफर आएको थियो तर अहिले चैं म्युजिक भिडिओमा मात्र छौं । मुभीको लागि चै हामीले त्यसरी सोचेका छैनौ ।’

उनीहरुले सुरुमा टीकटक मनोरञ्जनको लागिमात्र चलाए । तर, लोकप्रियता हासिल गर्दै जान थालेपछि भने उनीहरुले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका हुन् । उनीहरुले पछिल्लो समय हिट सांगीतिक भिडिओहरुमा आफूलाई प्रस्तुत गरेका छन् । कतिपय व्यवसायिक ब्रान्डको प्रचारप्रसार पनि उनीहरुले गर्ने गरेका छन् । पछिल्लो समय मनोरञ्जनसँगै ब्रान्ड प्रवद्र्धनमा पनि जुम्ल्याहा दिदीबहिनी लागिपरेका छन् ।

एयरहोस्टेस बन्ने योजना

टीकटकमा हिट भएपछि अहिले उनीहरुलाई प्रेमदेखि विहेका प्रस्ताव प्रशस्तै आउने गरेका छन् । उनीहरुको प्रेम सम्बन्धबारे पनि मिडियामा चर्चा छाउने गरेको छ । प्रिज्मा र सिरियलका अभिनेता बलेबीच प्रेम रहेको र उनीहरु विहे गर्ने तयारी साथ अघि बढेको समेत चर्चा छ । उनीहरुले प्रेमलाई लुकाएका पनि छैनन् । मिडिया अन्तर्वार्तामा एकअर्काको नाम लिएर प्रशंसा समेत गर्ने गरेका छन् ।

प्रिज्माले भनिन्– ‘जब हामी सांगीतिक क्षेत्रमा आयौ तब हामी मेन्टल्ली पिप्रेयर भएर आएका छौं । यो सधैभरी रहँदैन भनेर हामीले ब्याकअपको लागि अरु केही गर्ने योजना पनि बनाएका छौं । हाम्रो रहर चै पहिलादेखि नै एयरहोस्टेस गर्ने भन्ने थियो । सायद उता नै जान्छौं की तर अहिले सम्मको सोच चै एभिएसनमा नै जाने छ ।’

नेपालमा प्रिज्मा र प्रिन्सीमात्र होइन टीकटकमा अरु थुप्रै ट्वीन्स दिदीबहिनी र दाजुभाई चर्चित छन् । यी मध्ये एक हुन् दीपा र दमान्ता । यो जुम्ल्याहा दिदीबहिनी पनि टीकटकमा हिट छ । उनीहरुले टीकटकमा अभिनय प्रस्तुत गरेर दर्शकको मन जितेका छन् । यो जोडीलाई २.८ मिलियनले फलो गरेका छन् भने ४९.५ मिलियनले लाईक गरेका छन् ।

अन्य जुम्ल्याहा जो टीकटकमा हिट छन्

दीपा र दमान्ता ।

रियालिटी टिभी सो ‘डान्सिङ विथ द स्टार्स’मा समेत दीपा र दमान्ताको जोडीको डान्स हेर्न पाइन्छ । यो जोडीले रियालिटी सोमा डान्स गरेपछि अझ धेरै हिट भएका हुन् । उनीहरु पनि टीकटकमा निकै सक्रिय छन् ।

धेरै फलोअर्स कमाएर हिट भएका टीकटककै अर्को जुम्ल्याहा जोडी हुन् इछिता र विछिता तिवारी । यी दुईजनालाई २३ लाखले फलो गरेका छन् भने १८.४ मिलियनले लाईक गरेका छन् । टीकटकमा उनीहरुको डान्स तथा अभिनयलाई हेर्न पाइन्छ । यो जोडी टीकटकबाट हिट भएपछि सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुन थालेको छ ।

अमर र अमृत दाहाल पनि टीकटकमा रुचाइएको जुम्ल्याहा दाजुभाई हुन् । ट्विन दिदीबहिनीसँगै दाजुभाई पनि हिट छन् । यी दुईले जुम्ल्याहा दिदीबहिनीसँग मिलेर भिडिओ पनि बनाउने गरेका छन् ।

अमर र अमृतले टीकटकमा कमेडी भिडिओ, डान्स तथा छोटो भिडिओ बनाएर दर्शकको मन जितेका छन् । ८२८.७ के जनाले फलो गरेका छन् भने १८.५ मिलियनले लाईक गरेका छन् ।

टीकटकबाट हिट भएपछि ट्वीन्स गर्ल्सहरुले म्यूजिक भिडिओमा पनि अभिनय गरेका छन् । उनीहरुले टीकटकमा मात्र नभई सांगीतिक क्षेत्रबाट पनि दर्शकहरुको मन जितेका छन् । उनीहरुले नायिकाहरुसँग पनि अभिनय गर्ने मौका पाएका छन् ।

तन्नेरी पुस्तामाझ लोकप्रिय टीकटक एप मनोरञ्जन मात्र नभएर सूचना प्रवाहमा पनि उत्तिकै प्रयोगमा आउँछ । प्रधानमन्त्री ओलीले आफ्ना भाषणलाई टीकटकमा हाल्ने गरेका छन् । टीकटकमा नेताहरुको भाषणको दोहोरी निकै हिट हुने गरेको छ । यसै महीना सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीको चित्रण टीकटकमा प्रशष्त भएको थियो । नेपालमा हिट भएपनि टीकटकलाई भारत, अमेरिका लगायतका अन्य मुलुकले भने सूचनाको चुहावट हुन सक्ने भन्दै प्रतिबन्ध लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर