ओलीले बोलाए स्थायी कमिटी बैठक – Nepal Press

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको बताए ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । ‘हिजो नै कार्यदलमा सहमति बनेको कुरा आएको थियो । रातभरीमा के भएर रोकिएको हो थाहा भएन । महासचिवले अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बोलाउनुभएको हो’, तामाङले नेपाल प्रेससँग भने ।

एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति जुट्न सकेको छैन । सहमति नजुट्दै ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर