शौचालयको ट्याङ्कीमा भेटियो सुजिताको शव, देवर-ससुराको मिलेमताेमा हत्या ! – Nepal Press

शौचालयको ट्याङ्कीमा भेटियो सुजिताको शव, देवर-ससुराको मिलेमताेमा हत्या !

आमाको बिलौना- अब कसको लागि बाँच्नू !

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर शव फेला परेको छ । एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फलिएको शव फेला पारेको हो । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो । सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर शवको खानतलासी गरेको थियो ।

सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको आरोप छ । सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइत पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ । तर माइती पक्षको मगलाई प्रहरीले वास्ता गरेको छैन ।

घटनाको अनुसन्धान गर्न अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय पनि प्रहरीसँग आग्रह गरेका थिए । तर, महोत्तरीका एसपी दिनेश आचार्यले आफूहरुको आग्रहलाई नमानेको उनीहरुले बताएका छन् ।

उनीहरुले मधेसी आयोग र महिला अधिकार आयोगमापनि घटनाको छानविनका लागि आवश्यक पहल गरिदिन निवेदन पठाएका थिए ।
मधेसी आयोगका अध्यक्ष विजय दत्तले तत्कालै घटनाको छानविन गर्न महोत्तरी प्रहरीलाई पत्राचार गर्‍यो । लगत्तै प्रहरीले माइत पक्षले आशंका गरेको खेतमा असार १३ खोजी गर्‍यो ।

त्यतिबेला करिब ५ फिट खाल्डो खनेपछि केश, कपडा र शरीर लगाउन प्रयोग गरेको केमिकल भेटियो । सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देबर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरासतमा छन् ।

सुजिताका श्रीमान सुस्त मनस्थितिका छन् । प्रहरीले पटक-पटक रुपेशलाई सुजिताको शव लुकाएको ठाउँ देखाउन भनेका थिए । तर तीन दिन अघि रुपेशले शव गाडेको भनिएको ठाउँ देखाए । तर थप प्रमाण् फेला परेन ।

सुरुदेखि नै महोत्तरी प्रहरीमाथि आशंका गरेका अधिकारकर्मी गुन्जा र सामाजिक अभियन्ता सरोजले नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेश रञ्जितकारसँग सुक्ष्म अनुसन्धानका लागि गुहारे । डिआइजी रञ्जितकारले घटनाको अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोलाई परिचालन गरे । उनले सुजिताको शव शौचालयको ट्याङ्कीमा लुकाएको सुराक पत्ता लगाए । त्यहीं सुराकीका आधारमा खोजी गर्दा आज सुजिताको शव फेला परेको हो ।

सामाजिक अभियन्ता सरोज भन्छन्, ‘प्रदेश प्रहरीका डिएसपी महतोको अनुसन्धानबाट आज सुजिताको शव फेला परेको छ । यो ठूलो सफलता हो । महोत्तरी प्रहरीले पहिल्यैदेखि घटना दबाउन खोजिरहेको थियो ।’ अधिकारकर्मी गुन्जाले पनि महोत्तरी प्रहरी र अपराधमा मुछिएकाहरुको सेटिङको आशंका गरेकी छन् ।

शव फेला परेको स्थलमा सुजिताकी आमा सुनिता पनि पुगेकी थिइन् । छोरीको शव फेला परेपछि आमा सुनिता पटक-पटक बेहोश भएकी छन् । विक्षिप्त स्थितिमा रहेकी आमा सुनिता भन्छिन्- मेरो मुटु नै चुँडेर लगे, अब कसको मुख हेरेर बस्नू ?

‘दाइजो र सम्पत्तिका कारण हत्या’

सुजिता हत्याको कारण अहिलेसम्म खुलेको छैन । तर दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेका छन् । तर हत्याको कारण खुलाएका छैनन् ।’

श्रीमान सुस्त मनस्थितिका भएकाले अन्य पुरुषसँगको हिमचिम पनि हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । ससुरा पक्षले अन्य पुरुषसँग भागेको भनेपछि प्रहरीले सुजिताका एक साथीलाई नियन्त्रणमा लिएको थियो । तर उनी निर्दोष देखिएपछि प्रहरीले छाडेको थियो ।

छोरा–छोरीको विजोग

सुजिताको हत्यापछि छोरा–छोरीको विचल्ली भएको छ । उनका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन् । सुजिताको हत्यापछि घटना लुकाउन ससुरा पतिराम ठाकुरले उनका छोरा-छोरीलाई ज्वाइँको घर पठाएको बताइएको छ । केही दिनपछि उनीहरुले नातिनातिनालाई फिर्ता ल्याएका थिए ।

माइत पक्षले छोराछोरीलाई आफ्नो घर लग्ने प्रयास गरे । तर उनीहरु मामाघर जान मानेको थिएनन् । हत्याका आरोपीहरुमाथि उजुरी दर्ता गराउन माइत पक्ष जिल्ला प्रहरी कार्यालय पुगेको दिन सुजिताका छोरा-छोरीलाई पनि ल्याइएको थियो । त्यहाँ हजुरबा र हजुरआमा (नाना-नानी) उनीहरुसँग घुलमिल गरे र घर ल्याउन सफल भए । अहिले सुजिताका तीनै सन्तान मामा घरमै बसिरहेका छन् ।

६ जनामाथि उजुरी

सुजिताको हत्या आरोपमा माइत पक्षले उनका ससुरा, देवर, देवरानी, श्रीमानसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेको छ । जसमध्ये श्रीमान र देवर पक्राउ परेका छन् । अन्य अभियुक्त फरार छन् ।

अधिकारकर्मी गुन्जा रायले घटनामा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरी कानूनी दायरमा ल्याउन प्रहरीसँग माग गरिन् । उनले भनिन्, ‘किटानी जाहेरी दिएको पनि एकसाता बढी भइसक्यो । आज उनको शव पनि फेला पर्यो । अब तत्कालै फरार भएका अभियुक्तहरुलाई पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर