प्रधानमन्त्री ओलीले भने – २०२१ भित्रै सबै जनतालाई खोप (भिडियो) – Nepal Press

प्रधानमन्त्री ओलीले भने – २०२१ भित्रै सबै जनतालाई खोप (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ ।

नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाए ।

ओलीले भने, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’

प्रधानमन्त्रीले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो । उनले भने, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।”

स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुनेमा ओलीले विश्वास जनाए ।

कोभिडको तेस्रो/चौथो लहरको सम्भावनाप्रति सचेत रहँदै सरकारले काम अघि बढाएको उनको भनाइ छ । ‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो’, प्रधानमन्त्रीले भने ।

रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर