एमाले कार्यदल बैठक बस्दै- सहमतिको मस्यौदामा हस्ताक्षरपछि स्थायी कमिटीबाट अनुमोदन – Nepal Press

एमाले कार्यदल बैठक बस्दै- सहमतिको मस्यौदामा हस्ताक्षरपछि स्थायी कमिटीबाट अनुमोदन

काठमाडाैं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय वार्ता कार्यदलको बैठक अहिले केहीबेरमा बस्दैछ । यसअघि नै कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि सामान्य छलफलपछि कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी कमिटीमा पेश गर्ने समझदारी भएको छ ।

एमाले एकताको सहमति मस्यौदालाई स्थायी कमिटीले अनुमोदन गरेसँगै एमालेभित्रको विवाद अब आन्तरिक विषय बन्नेछ । सर्वोच्च अदालतको फैसलाअघि नै एमाले एक भएको सन्देश दिन आजै सहमतिलाई स्थायी कमिटीबाट अनुमोदन गर्न लागिएको हो ।

सहमति मुलतः एमालेलाई २०७५ जेठ २ अघिको संरचनाबाट अघि बढाउने र यसबीचमा बनेका समानान्तर कमिटीहरुको व्यवस्थापनका लागि कार्यदललाई सशक्त बनाउने कोणबाट भएको एक सदस्यले बताए ।

सर्वोच्च अदालतको सम्भावित फैसलाबारे केही बोल्न आवश्यक नरहेको भन्दै ती सदस्यले एमाले एक ठाउँमा छ भन्ने सन्देश दिनासाथ विपक्षी गठबन्धनमा एमालेको माधव नेपाल पक्ष नरहेको स्पष्ट हुने बताए ।

कार्यदलमा २०७५ जेठ ३ गतेको नेकपा एमालेको अन्तिम बैठकले माओवादीसँग एकता गर्नुअघि थपिएका ४१ जना केन्द्रीय सदस्य तथा नेकपा विघटनपछि एमालेमै रहेका २३ जना पूर्व माओवादी केन्द्रीय सदस्यलाई समेत सम्बोधन गर्ने गरी सहमति जुटाएको छ ।

यसका साथै माधव नेपाल पक्षबाट केही सदस्य केन्द्रीय कमिटीमा थप्ने र विधान संशोधनमा समेत सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर