कोभिसिल्ड र अमेरिकी खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने युरोपेली मुलुकहरुको नीति – Nepal Press

कोभिसिल्ड र अमेरिकी खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने युरोपेली मुलुकहरुको नीति

काठमाडौंको जर्मनी दूतावासले भन्यो : भेरोसेललाई हामी चिन्दैनौं

काठमाडौं । बेल्जियम, जर्मनीसहितका एकदर्जन युरोपेली मुलुकले आस्ट्राजेनेका खोप (कोभिसिल्ड) लगाएकालाई आफ्नो मुलुकमा प्रवेश अनुमति दिने नीति लिएका छन् । काठमाडौंस्थित जर्मनी दूतावासले आफ्नो मुलुक प्रवेशका लागि लगाउनुपर्ने खोपहरुको सूची नै सार्वजनिक गरेको छ । जर्मनीले कोभिसिल्ड खोपलाई सरकारले मान्यता दिएकाले उक्त खोपको दुई डोज लगाउनुपर्ने भनेको छ ।

चिनियाँ खोप भेरोसेल लगाएकाको हकमा भने केही सर्त राखिएको छ । जर्मनीले भेरोसेललाई मान्यता नदिएकाले भेरोसेल लगाएकालाई पनि खोप नलगाएकोरुपमा गणना गरिने दूतावासले जनाएको छ । भारतस्थित बेल्जियम दूतावासले पनि विज्ञप्ति जारी गर्दै कोभिसिल्ड खोपलाई मान्यता दिएकाले सोही खोपको डोज पुरा गर्नेलाई प्रवेश दिने नीति लिएको जनाएको छ ।

भारतस्थित बेल्जियम दूतावासले ट्वीटमार्फत भनेको छ, ‘निर्णय खोप असमान वितरणका कारण कोभिड-१९ विरुद्धको अभियानमा पछि देखिएका नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका लागि महत्वपूर्ण हुनेछ ।’

नेदरल्यान्ड्सले गतसाता आफ्नो मुलुकमा हुने यात्राका लागि कोभिसिल्ड खोपलाई अनिवार्य गरेको जनाएको थियो । स्वीटजरल्यान्ड, आइसल्यान्ड र सात ईयू देशहरुले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोड-आस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए ।

भारतका परराष्ट्र मामिला मन्त्री एस जयशंकरले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड-१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।

विश्वसनीय स्रोतहरूका अनुसार अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेको छन् । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीजरल्याण्डले पनि अनुमति दिइसकेको छ ।

कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन बिचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहरूलाई अनुरोध गरेका थिए । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर