नवीन प्रयोग गर्दै धरानका वडाध्यक्ष: सार्वजनिकस्थलमा खुला व्यायामशाला, स्थानीय आकर्षित – Nepal Press

नवीन प्रयोग गर्दै धरानका वडाध्यक्ष: सार्वजनिकस्थलमा खुला व्यायामशाला, स्थानीय आकर्षित

इटहरी । बेलायत, हङकङ, मकाउ, हल्यान्ड, थाइल्यान्ड आदि थुप्रै देश घुमेका छन् धरान उपमहानगरपालिका– १८ का वडाध्यक्ष प्रवीण राई । उनले विदेशमा जतिबेला पनि व्यायाम गर्न गरी सार्वजनिकस्थलमै व्यायामशाला सञ्चालन भएको देखे । अनि नेपाल फर्किएर त्यस्तै व्यायामशाला सञ्चालन गर्ने योजना बनाए ।

गत स्थानीय चुनावबाट वडाध्यक्ष भएपछि उनी उक्त योजना सफल बनाउन लागिपरे । परिणामतः उनले यसै वर्ष धरान–१८ शिवमार्गमा खुला व्यायामशाला निर्माण गरे । स्थानीय सरकारको २२ लाख रुपैयाँ बजेटमा बनेको उक्त सार्वजनिक व्यायामशालामा १२ प्रकारका विभिन्न व्यायाम उपकरण छन् ।

क्रस ट्रेनर, साइकल, स्टेयर स्टेपर, अक्युपे्रसर स्पिनर, सिटेड ट्विस्टर ट्रिपल, सिटेड पुलरलगायतका उपकरण राखिएका छन् । जसमा बालबालिकादेखि वृद्धवृद्धासम्मले व्यायाम गरिरहेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि छ, व्यायामशाला । यहाँ हेर्न र फोटो खिच्न आउनेहरु पनि धेरै हुन्छन् । ‘धरान १८ मात्रै होइन, धरानभरबाट यहाँ मान्छेहरु आएको देख्छु’, वडाध्यक्ष राई भन्छन्, ‘बिपी क्याम्पका बिरामी कुरुवाले समेत व्यायाम गरेको देख्दा खुशी लाग्छ ।’

करिब २ कट्ठा क्षेत्रफलमा फैलिएको व्यायामशालाको सुरक्षामा विभिन्न स्थानमा छ वटा सिसिक्यामेरा जडान गरिएका छन् । कोभिड–१९ महामारीको कारणले व्यायामशालाको औपचारिक उद्घाटन भने हुन नपाएको उनी बताउँछन् । भन्छन्, ‘औपचारिक उद्घाटन हुन नपाए पनि व्यायामशालाको उपयोग भइरहेको छ ।’

वडा अध्यक्ष राई स्थानीय संस्कृति प्रबद्र्धनमा पनि लागिपरेका छन् । उनले धरान १८ को बुद्ध चौकमा किराँतीहरुको मौलिक सांस्कृतिक बिम्ब ‘वाबु’ अर्थात ‘चिन्डो’को सार्वजनिक प्रतिमा स्थापना गरेका छन् । २०७७ साउन १ गते प्राध्यापक डाक्टर टंक न्यौपानेले प्रतिमाको लोकार्पण गरेका थिए ।

धरान १८ मात्रै हैन धरान १३ मा पनि खुला व्यायामशाला बनेको छ । अन्तर्राष्ट्रिय साहित्य उत्सव समेत गरेर धरानमा विभिन्न रचनात्मक काम गरेका वडाध्यक्ष नेत्र काफ्लेले व्यायामशालाको पनि नेतृत्व गरिरहेका छन् । धरान १३ को अमरप्रावि मार्गको वडा कार्यलयमुनिको खाली जग्गामा व्याशायशाला बनेको छ । व्यायामशालामा ११ प्रकारका उपकरणहरु राखिएका छन ।

धरानको प्रसिद्ध विपी पार्क, चिन्डे डाँडा, सेछ एडभेन्चर पार्कदेखि साँघुरीगढी हाइकिङ जाने रुटमै व्यायामशाला छ । धरानको पर्यटनको लोकप्रिय रुटमा भएकोले व्ययामशालाको बारेमा धेरै जानकार छन् । व्यायामशाला साढे दुई कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

व्यायामशालाको घेराबारा, तारजाली, उपकरण खरिददेखि निर्माणमा २१ लाख ६५ हजार खर्च भएको वडा अध्यक्ष काफ्ले बताउँछन् । व्यायामशाला पूर्णरुपमा संचालनमा आउँन भने नसकेको उनले बताए । ‘यो आर्थिक वर्षमा केही काम अगाडि बढेको छ’, काफ्ले भन्छन्, ‘आगामी आर्थिक वर्षमा व्यायामशालाले पूर्णता पाउनेछ ।’

धरानका स्थानीय उमेश भन्डारी भन्छन्, ‘यो खुला जिम (व्यायामशाला)मा धेरैको आकर्षण छ । यो निकै राम्रो अभ्यास हो ।’ बेलायतमा उच्च शिक्षा अध्ययन सकेर नेपाल आएका भन्डारी भन्छन्, ‘पार्क, व्यायामशाला, बालउद्यानदेखि वृद्धा चौतारीमा अझै धेरै काम हुन आवश्यक छ ।’

धरानका पर्यटन व्यवसायी तथा साइकलयात्री वाशुदेव बराल व्यायामशालाले धरानको पर्यटन क्षेत्रलाई नयाँ परिचय दिएको बताउँछन् ।

बेलाबेला धरान १८ को व्यायामशाला पुग्ने बरालले धरानमा भएका साहसिक, सांस्कृतिक, शैक्षिकदेखि नागरिक सहभागिताका पर्यटन प्याकेजमा खुला व्यायामशालाले नयाँपन दिएको उनको तर्क छ ।

प्रदेश १ मै पहिलोपटक धरानले खुला व्यायामशाला बनाएकोले वेलनेस पर्यटन पारखीलाई धरान प्राथामिकतामा पर्नसक्ने उनी बताउँछन् । भन्छन्, ‘तर यसको प्रवद्र्धन, निरन्तरता र स्तरोन्नतिको आवश्यकता छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर