कांग्रेस अधिवेशन: बर्दियामा बढ्दै आकांक्षी, प्युठानमा पौडेल पक्षलाई सकस – Nepal Press

कांग्रेस अधिवेशन: बर्दियामा बढ्दै आकांक्षी, प्युठानमा पौडेल पक्षलाई सकस

रुपन्देही । नेपाली कांग्रेस बर्दियाको नेतृत्वका लागि आकांक्षीको लहर बढ्दै गएको छ । महाधिवेशन नजिकिएसँगै आकांक्षीहरुले आ–आफ्ना समूहका नेता–कार्यकर्तालाई भेट्ने काम तीव्र बनाएका छन् ।

केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै समूहले यहाँको आगामी नेतृत्व आफ्नो पक्षमा बनाउन लागिपरेका छन् । देउवा समूहबाट केन्द्रीय सदस्य रहेका किशोरसिंह राठौर र पौडेल समूहबाट अहिलेका पार्टी सभापति संजय गौतमले जसलाई साथ दियो उही अगाडि बढ्ने निश्चित छ ।

देउवा समूहबाट अरुणप्रताप सिंह राठौरलाई अगाडि सार्ने तयारी छ । राठौर यसअघि यहाँको सभापति र केन्द्रीय सदस्यको उम्मेदार भइसकेका हुन् । उनी यहाँबाट केन्द्रीय सदस्य रहेका किशोरसिंह राठौर काकाभतिजा हुन् ।

त्यसैगरी पौडेल समूहबाट विद्याप्रसाद खनाल आकांक्षी छन् । यसैगरी अहिलेको उपसभापति मिश्रिलाल यादव र महासमिति सदस्य तेजबहादुर भाट पनि जिल्ला नेतृत्वका बलियो दावेदार रहेको सो पार्टीका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले नेपाल प्रेसलाई बताए । ‘महाधिवेशनमा नेतृत्वको आंकक्षा राख्नु राम्रो हो, धेरै साथीहरु आकांक्षी हुनुहुन्छ’, बर्दियाका पार्टी सभापति संजय गौतमले नेपाल प्रेसलाई बताए ।

दुई कार्यकाल पार्टी सभापति भएका नेता गौतम अब भने प्रदेशका सभापति अथवा केन्द्रीय सदस्यमा जाने तयारीमा छन् । आफ्नो तयारीका लागि समूहका नेता भेट्न काठमाडौं पुगेका गौतमले भने, ‘मैले चाहेर मात्र भएन, नेताहरुले जे जिम्मेवारी दिनुहुन्छ, त्यो लिन तयार छु ।’

प्युठानमा पनि सरगर्मी बढ्यो

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस नेता डा.गोविन्दराज पोखरेलको गृहजिल्ला प्यूठानमा पनि नेतृत्वका लागि रस्साकस्सी रोचक छ ।

विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका पोखरेल महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि अहिले डा.शेखर कोइरालाको समूहमा रहेका छन् ।

पोखरेलनिकट प्यूठान कांग्रेसका सभापति अमर भण्डारी पुनः दोहोरिने तयारीमा छन् । यद्यपि सोही समूहबाट विष्णु गिरी पनि जिल्ला सभापतिका दावेदार छन् । संस्थापन इत्तर समूहका नेता तथा वर्तमान जिल्ला सचिव देवेन्द्र बर्माले पनि सभापतिमा लड्ने तयारी गरेका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवा निकट शिव रिजालले पनि जिल्ला सभापतिमा दावेदारी दिदैंछन् ।

मूलतः प्यूठानको राजनीति डा.पोखरेलको समूह र देउवानिकट समूहबीच हुने देखिन्छ । पोखरेल नेतृत्वको समूहलाई देउवा निकट नेता रोज राणाले टक्कर दिदैंछन् । राणाको समर्थनमा रिजाल सभापतिको उम्मेदवार हुने देखिन्छ । अघिल्लो महाधिवेशनमा पोखरेल र राणा एकै समूहमा भएपनि अहिले दुईतिर भएकोले रस्साकस्सी रोचक छ ।

वर्तमान सभापति अमर भण्डारी आफूले सबैसँग छलफल गरेर निर्णय लिने बताउँछन् । ‘साथीहरुको पनि तयारी छ भन्ने सुनेको छु । सबैसंग सल्लाह गरेर मैले के गर्ने भन्ने निर्णय लिन्छु’, भण्डारीले नेपाल प्रेससँग भने ।

देउवा समूह भने भण्डारीको निरन्तरताको पक्षमा छैन । ‘हामी वर्तमान सभापतिको विकल्प खोज्नेछौं । उहाँले फरक समूहलाई अस्वीकार गरेर अगाडि बढ्नुभयो’, देउवा पक्षका नेता जैनुल मियाँले भने ।

मियाँ प्रदेशसभा क्षेत्रीय समिति (१) को सभापतिका दावेदार समेत हुन् । सो क्षेत्रमा वर्तमान सभापति टेकराज भण्डारी दोहोरिने चर्चा पनि छ । प्रदेशसभा क्षेत्रीय समिति (२) का सभापति राणाले भने उम्मेदवारीबारे मुख खोलिसकेका छैनन् । सो क्षेत्रमा राणाले लिने निर्णय अनुसार समीकरण बन्ने देखिन्छ ।

कम्युनिष्टको पुरानो किल्ला मानिने प्यूठानमा पछिल्लो समय कांग्रेसको संगठन सुध्रदै गएको छ । कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ कांग्रेसर्ला पुग्ने देखिन्छ । प्यूठानबाट केन्द्रीय समितिमा भने डा.पोखरेलकै चर्चा छ ।

यसैगरी प्रदेश समिति सदस्यमा नामबहादुर नेपाली, धनलक्ष्मी श्रेष्ठ, दुर्गा बुढाथोकीले तयारी गरेका छन् । कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा जिल्ला अधिवेशन साउन २३ गते हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर