पूर्वराजा ज्ञानेन्द्रः शासनमा चुकेका, जनतासँग झुकेका – Nepal Press

पूर्वराजा ज्ञानेन्द्रः शासनमा चुकेका, जनतासँग झुकेका

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आजबाट ७५ औं वर्षमा प्रवेश गरेका छन् । देशमा कोरोना महामारी जारी रहेको र आफैं केही समयअघि संक्रमित भएकाले पूर्वराजाले यसपाली आफ्नो जन्मदिन मनाएनन् ।

यदि नेपालबाट राजतन्त्र नउखेलिएको हुन्थ्यो भने राजाको जन्मदिनलाई राष्ट्रिय उत्सवकै रुपमा धुमधामले मनाइन्थ्यो । सक्रिय राजतन्त्रकालमा त सार्वजनिक बिदा नै दिने गरिएको थियो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पूर्वराजा सर्वसाधारणमा परिणत भएका छन् र जन्मदिन उनको निजी विषय मात्र भएको छ ।

७५ वर्षको उमेर भनेको जीवनको उत्तरार्ध हो । यो उमेरमा मानिससँग ठूला योजना र महत्वाकांक्षाहरु खासै बाँकी रहँदैनन् । पूर्वराजा ज्ञानेन्द्रसँग अब फेरि शक्तिमा फर्किने लालसा वा अभिलाषा सायद मरिसक्यो । यद्यपि, सडकमा बेलाबखत लाग्ने ‘राजा आउ देश बचाउ’ को नाराले उनलाई पक्कै तरंगित तुल्याउँदो हो ।

दुईपटक राजा बन्ने ‘भाग्यमानी’

एउटै व्यक्ति एउटै देशमा दुईपटक राजाका रुपमा गद्दीसिन भएको उदाहरण संसारमा विरलै छन् । यो सौभाग्य राजा ज्ञानेन्द्रले प्राप्त गरे, जबकि उनी राजा बन्ने रोलक्रममै थिएनन् । दुवैपटक उनी भवितव्यले राजा भएका हुन् ।

२००७ सालमा हजुरबुवा त्रिभुवन जेठा छोरा महेन्द्रसहित देश छोडेर भारतमा शरण लिन पुग्दा तत्कालीन राणा शासकले ४ वर्ष पनि नपुगेका अवोध ज्ञानेन्द्रका शिरमा भारी श्रीपेच लगाइदिएका थिए । राणाहरुले ज्ञानेन्द्रको राज्याभिषेकसमेत गराएर हतारहतार उनको नाममा मुद्रासमेत निष्काशन गर्न भ्याएका थिए ।

२००७ को दिल्ली सम्झौतापछि त्रिभुवन नेपाल फर्केर राजगद्दी आफैं सम्हाले । मात्र ६२ दिनमा बालक ज्ञानेन्द्रको राजकाज सकियो । पहिलोपटक राजा बन्दाको गतिलो स्मृति पनि ज्ञानेन्द्रको मानसपटलमा नहोला ।

त्रिभुवनको शेखपछि उनका जेठा छोरा महेन्द्र राजा भए, जो नेपालको इतिहासमै महत्वाकांक्षी र सफल राजाको रुपमा चिनिन्छन् । महेन्द्रपछि आएका वीरेन्द्रमा राजकाज क्षमताको अभाव थियो । तर, पनि आफ्नो शालिन स्वभावका बलमा उनले जनतामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए । वीरेन्द्रपछिको लाइनमा थिए दिपेन्द्र । तर, अकल्पनीय दरबार हत्याकाण्डसँगै देशको इतिहासले नयाँ मोड लियो । राजपरिवारको वंशनाश भएपछि दोस्रोपटक ज्ञानेन्द्रको शिरमा श्रीपेच सजियो ।

पहिलोपटक राजा बन्दा ज्ञानेन्द्र एक अवोध शिशु थिए । राजगद्दी खाली नराख्न मात्रै राणाहरुले उनलाई प्रयोग गरेका थिए । दोस्रोपटक राजा बन्दा भने ज्ञानेन्द्र उमेरले पाको मात्रै थिएनन्, उनमा शक्ति अभ्यासको तीव्र लालसा तथा महत्वाकांक्षा पनि थियो । राजा बनलगत्तै उनले आफू ‘वीरेन्द्रजस्तो देखिने तर नसुनिने राजा नबन्ने’ अभिव्यक्ति दिएका थिए ।

तर, करिब ७ वर्ष राजगद्दीमा रहँदा ज्ञानेन्द्रबाट देशका लागि अविस्मरणीय योगदान केही भएन । त्यसबेलाको सबैभन्दा ठूलो समस्या माओवादी जनयुद्धको समाधान निकाल्न उनी चुके । भ्रष्टाचार नियन्त्रणका लागि भनेर बनाएको शाही आयोग अन्ततः अदालतबाट खारेज भयो । केही नेताहरुलाई भ्रष्टाचार आरोपमा जेलमा थुने पनि अदालतले नै भटाभट रिहा गर्यो । ज्ञानेन्द्रले त्यसबेला अदालतलाई आफ्नो नियन्त्रणमा लिन चाहेनन् वा सकेनन् ।

ज्ञानेन्द्रको राजनीति आलोकाँचो देखियो । देश विकासका निम्ति उनीसँग ठोस भिजन थिएन । आफूविरुद्धको आन्दोलनलाई न उनले निर्णायक दमन गर्न सक न समयमै सम्झौता गर्न । फलतः उनको वाध्यात्मक वहिर्गमन भयो र नेपालबाट राजतन्त्रको जरो उखेलियो ।

ज्ञानेन्द्रलाई पोल्ने एउटा आक्षेप

राजपरिवारको दुखदायी विनाश भएको अकल्पनीय घटनापछि ज्ञानेन्द्र राजगद्दीमा आएका थिए । आफ्नै दाजुको सिंगै परिवार कत्लेआम भएको घटना पक्कै पनि उनका निम्ति असैह्य पिडादायी थियो । पत्नी कोमललाई छातिमै गोली लागेको थियो । र, त्यही स्थितिमा उनले देशको अभिभावकको रुपमा गद्दी सम्हाल्नु थियो ।

तर, अर्कोतर्फ दरबार हत्याकाण्ड ज्ञानेन्द्रले नै गराएको आशंका जनमानसमा व्याप्त भइदियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले ज्ञानेन्द्रलाई आरोपित गरेर राष्ट्रिय दैनिकमा लेख लेखे । ज्ञानेन्द्र स्वयम्ले दरबार हत्याकाण्डको गहन र पत्यारिलो तवरबाट अनुसन्धान गर्न चुक्दा आफूमाथि लागेको आक्षेपको दाग समयमै पखाल्न सकेनन् । आजका दिनसम्म पनि दरवार हत्याकाण्डमा ज्ञानेन्द्र–पारसको हात रहेको आशंका गर्ने मान्छेहरु छन् । जबकि घटना विवरण, प्राप्त प्रमाण तथा प्रत्यदर्शीको बयान सबैले यो घटनामा एक मात्र जिम्मेवारका रुपमा तत्कालीन युवराज दिपेन्द्रलाई मात्रै औंल्याउँछन् ।

यस अर्थमा ज्ञानेन्द्रलाई नखाएको विषले अहिलेसम्म पोलिरहेको छ । यदि हत्याकाण्डलगत्तै उनले एउटा गतिलो टिम बनाएर सुक्ष्म अनुसन्धान गराएको भए त्यसबेला नै दुधको दुध पानीको पानी हुन्थ्यो । उनले प्रधानन्यायधीस र सभामुखको दुई सदस्यीय छानविन समिति बनाएर झारा टार्न खोजे । उक्त समितिले निस्कर्षबिनाको सतही र हचुवा प्रतिवेदन गर्यो, जसले जनतालाई ‘कन्भिन्स्ड’ गर्न सकेन ।

बहिर्गमनपछिको लोकप्रियता

राजा ज्ञानेन्द्रले पिता महेन्द्रले जस्तै प्रत्यक्ष शासनको भोक देखाएर ‘कु’ को अभ्यास गरे । तर, महेन्द्रको जस्तो ‘फिनिसिङ’ उनमा थिएन । महेन्द्रको ‘कु’ भिजनसहितको थियो र उनी सफल भए । ज्ञानेन्द्रको ‘कु’ मा भिजनरहित थियाे र उनी असफल भए ।
राजा ज्ञानेन्द्रले नै पुनर्स्थापित गरिदिएको सांसदले नेपालबाट राजतन्त्र फ्याकेर गणतन्त्रमा जाने निर्णय लियो । त्यसपछि ज्ञानेन्द्रले राजगद्दी मात्रै छाड्नु परेको २४० वर्षको इतिहास बोकेको राजतन्त्र नेपालबाट विदा भयो । सक्रिय राजाका रुपमा सत्ता र शक्तिको केन्द्रमा रहेका ज्ञानेन्द्र सर्वसाधारणको हैसियतमा झरे । उनले नारायणहिटी राजदरबार त्याग्नुपर्यो र नागार्जुनको जंगलमा उनको वास भयो ।

जोकोही व्यक्तिलाई आफूले उपभोग गरिरहेको सामान्य सेवा-सुविधा खोसिँदा पनि निकै ठेस लाग्छ । हामीले देशमा मन्त्री-प्रधानमन्त्री भएकाहरु आफ्नो कुर्सी जोगाउनका लागि के-कस्ता पापड बेल्न तयार हुन्छन् भन्ने देखेकै छौं । त्यस अर्थमा ज्ञानेन्द्रले आफ्नो आसन जोगानका लागि हदैसम्म तिगडम गर्ने वा अन्तिम बल प्रयोग गर्न सक्थे । सेनालाई उतारेर आन्दोलन दमन गर्ने निर्णायक प्रयास गर्न सक्थे । तर, त्यतातिर नलागी उनी जनताको नासो जनतालाई सुम्पिन तयार भए । कुनै थप लफडाबिना नारायणहिटीबाट सरक्क विदा हुँदा जनमानसमा उनीप्रति एकप्रकारको सहानुभूतिको विजारोपण भयो ।

त्यसयता आजका दिनसम्म आइपुग्दा पूर्वराजाको लोकप्रियताको ग्राफ निकै उकालो लागेको छ । राजनीतिक दलहरु असफल हुँदा र गणतन्त्र असफलताउन्मूख हुँदा जनताको एउटा हिस्साले फेरि पुर्वराजसंस्थातिर फर्केर हेर्न थालेका छन् । राजा आउ देश बचाउको नारा बाक्लै सुनिन थालेकाे छ । देशको युवा पुस्तामा पूर्व राजसंस्थाप्रति नजानिँदो आकर्षण देखिएको छ ।

अस्ति भर्खर एउटा टेलिभिजन कार्यक्रममा चर्चित नायक पल शाहलाई सोधियो, ‘तपाईं राजा आउ देश बचाउका पक्षमा कि केपीबा आउ फेरि देश चलाउका पक्षमा ?’ धेरै नसोची नायकले जवाफ दिए, ‘म राजा आउ देश बचाउका पक्षमा ।’ उनले देश चलाउन एउटा अभिभावक चाहिएको र त्यो भूमिका राजनीतिक दलहरुबाट पूरा नभएको तर्क पनि गरे ।

केही समयअघि देशभरका सडकमा राजा फर्काउने मागसहित आन्दोलन चर्केको थियो । त्यो आन्दोलनमा कट्टर राजावादीहरु मात्रै थिएनन्, राजनीतिप्रति निरपेक्ष रहेका युवाहरुको एउटा जमात पनि थियो । सामाजिक सञ्जाल हेर्दा पनि पूर्वराजसंस्थाप्रति पछिल्लो समय जनसमर्थनको ग्राफ उकालो लागेको नै देखिन्छ ।

यद्यपि, यसबाट पूर्वराजा हौसिनु जरुरी छैन । यो उनीप्रतिको आशाभन्दा पनि वर्तमान राजनीतिप्रति जनताको वितृष्णाको प्रतिफल हो । यही जनसमर्थनको बलमा राजसंस्था पुनर्स्थापन  हुन सक्ने सम्भावना धेरै टाढा छ । राजाको समर्थनमा कुनै बलियो राजनीतिक शक्ति नभएका कारण निकट भविष्यमा गणतन्त्र नै उल्टाउने गरी आन्दोलनको उभार आउन सम्भव देखिँदैन ।

पूर्वराजासँग अझै तर्सन्छन् दलहरु

२०६२-६३ को आन्दोलन पनि वास्तवमा राजा फाल्ने मुल उद्देश्यका साथ सुरु भएको थिएन । आन्दोलनको पूर्वार्धमै ज्ञानेन्द्रले लचिलो भएर दलहरुलाई अधिकार प्रत्यायोजन गरेको भए उनको गद्दी गुम्थेन होला । जतिबेला उनी लचिलो बने, त्यतिबेला धेरै ढिलो भइसकेको थियो । दलहरु गणतन्त्रको एजेन्डामा पुगिसकेका थिए ।

अहिले पनि राजसंस्था पक्षधरहरु नेपालमा गणतन्त्र आउनुमा जनचाहनाभन्दा पनि वैदेशिक शक्तिको हात देख्छन् । खासगरी दक्षिणी छिमेकी भारतले नेपालमा राजसंस्था रहँदासम्म प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने महसुस गरी गणतन्त्रको आन्दोलनलाई मलजल गरेको उनीहरुको तर्क छ । २०६२-0६३ को आन्दोलनका क्रममा भएका सभाहरुमा विभिन्न भारतीय नेताहरु आएर भाषणसमेत गर्ने गर्थे । तत्कालीन माओवादी र सात दलबीच चर्चित १२ बुँदे सम्झौता पनि दिल्लीमै भएको थियो, जसले गणतन्त्रको आधार तयार गरेको मानिन्छ ।

राजाको छोरा राजा हुने व्यवस्था अहिलेको युग सुहाउँदो पक्कै होइन । तर, नेपालको भूराजनीतिले गर्दा राजतन्त्रका केही फाइदाहरु अवश्य थिए । राजसंस्थाजस्तो बलियो र स्थाइ संरचनाले देशमा वैदेशिक हस्तक्षेपलाई केहीहदसम्म भए पनि रोक्न सक्थ्यो । तथापि राजतन्त्रमा वैदेशिक हस्तक्षेप नै थिएन भन्ने चाहिँ होइन ।

जनताले राजसंस्थाबाट जुन अभिभावकत्व महसुस गरेका थिए, त्यो गणतन्त्रपछि राष्ट्रपतिबाट महसुस गरेका छैनन् । राष्ट्रपति संस्थाले राजसंस्थाको जस्तो गरीमा र ओज कायम गर्न नसकेकै हो । नेपालमा गणतन्त्र ल्याउन भूमिका खेलेका एक पात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै भनेका छन्, ‘राष्ट्रपतिभन्दा त राजाकै शान थियो ।’

गणतन्त्र आएको डेढ दशकसम्म पनि देशमा यो व्यवस्था संस्थागत हुन सकेको छैन । त्यसैले आजका दिनमा पनि राजनीतिक दल र नेताहरु अहिले पनि पूर्वराजा ज्ञानेन्द्रका अभिव्यक्तिहरुसँग तर्सिन्छन् । तर, पूर्व राजा ज्ञानेन्द्रले भने राजगद्दीबाट उत्रेयता  आफूलाई फेरि पुनिर्थापित गराउन कुनै प्रयत्न गरेका छैनन् । सायद अब गर्ने पनि छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *