नर्भिकमा जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा – Nepal Press

नर्भिकमा जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच अत्याधुनिक सेन्टरको शुभारम्भ गरियो ।

अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर सेन्टर शुभारम्भ गरे । चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. शर्मा नेतृत्वको टिमले सेन्टरबाट सेवा प्रदान गर्ने भएका छन् । डा. शर्माका अनुसार नर्भिकको फर्टिलिटि सेन्टर नेपालका मुलुकमा रहेकामध्ये अत्याधुनिक हो ।

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी स्तरीय सेवा दिइने जानकारी उनले दिए । ‘देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत छ’ शर्माले भने, ‘नर्भिकको आइभीएफ सेन्टर देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध भएको सेन्टर पनि हो ।’

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर