
राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु (फोटो/भिडियो)
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । एक साता अगाडि नै सुरु हुने तय भएको प्रशिक्षण खेलाडी तथा टोलीका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित भएको थियो ।
साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।
आजदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको प्रशिक्षण दुई चरणमा हुनेछ ।
बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन् ।
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।
यस्तै छनोट गरिएका अन्य खेलाडीमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।