हेटौँडा सिमेन्ट २ वर्षदेखि घाटामा, महामारी मुख्य कारण – Nepal Press

हेटौँडा सिमेन्ट २ वर्षदेखि घाटामा, महामारी मुख्य कारण

काठमाडौं । वागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले कोरोना महामारीका कारण नोक्सानो व्यहोर्नुपरेको बताएको छ ।

गत आव २०७६/७७ मा करिब २५ करोड बराबरको आर्थिक घाटा भएको थियो । यस आवमा पनि २५ करोड बराबरको नोक्सानी हुने अनुमान गरिएको उद्योगले जनाएको छ ।

कोरोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिए ।

अझ सिमेन्ट बिक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको शाहको भनाइ छ ।

पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुँदै आएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।

उद्योगको पछिल्लो अवस्था अनुसार वार्षिक करिब दुई अर्ब आम्दानी देखिन्छ भने त्योभन्दा बढी खर्च छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चा पदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।

उद्योगका अनुसार यता आव २०७५/७६ मा पनि उद्योगले करिब १६ करोड ६५ लाख घाटा बेहोरेको थियो । २०७३/७४ मा १५ करोड र २०७४/७५ मा भने १६ करोड नाफा गरेको थियो ।

हेटौँडा सिमेन्ट उद्योग करिब १०१ बिघा क्षेत्रफलमा र करिब २०० बिघामा कच्चापदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । कच्चापदार्थका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।

चालु आव २०७७/७८ मा ३१ लाख बोरा सिमेन्ट र एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जनाएको छ । मुख्य याममा कोरोनाको असहज परिस्थितिका कारण चैत-असारमै लक्ष्यअनुसार सिमेन्ट बिक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य हासिल हुन नसकेको बताइएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत सेयर छ । उद्योगलाई नाफामा लैजान नयाँ प्रविधि जडान गरी अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्न आवश्यक रहेको उद्योगको भनाइ छ ।

विसं २०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ स्थायी र करीब १०० ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर