कोमल वलीको चुनौती – मेरो कविता अब्बल साहित्यकारलाई देखाइयोस्, किशोर श्रेष्ठले आरोप प्रमाणित गरुन् – Nepal Press

कोमल वलीको चुनौती – मेरो कविता अब्बल साहित्यकारलाई देखाइयोस्, किशोर श्रेष्ठले आरोप प्रमाणित गरुन्

काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तथा चर्चित लोक गायिका कोमल वली फेरि एकपटक विवादमा तानिएकी छन् । राष्ट्रियसभाको बैठकमा हिजो उनले सुनाएको एउटा कविताले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न गरिरहेको छ ।

राष्ट्रियसभामा उनले ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता वाचन गरेकी थिइन् । कवितामा वलीले नेकपा एमालेको माधव नेपाल समूहलाई ‘बाँदर’ सँग तुलना गरेको भनेर धेरैले अथ्र्याएका छन् । उक्त समूहनिकट व्यक्तिहरूलाई कविताले आक्रोशित तुल्याएको छ ।

यद्यपि, वली स्वयम् भने आफ्नो कविता कुनै निश्चित व्यक्ति वा समूहप्रति लक्षित नरहेको बताउँछिन् । नेपाल प्रेससँग कुराकानी गर्दै उनले कवितालाई मनगढन्ते व्याख्या गर्नुको साटो अब्बल साहित्यकारलाई देखाएर यसको भावार्थ बुझ्न चुनौती दिइन् ।

वलीसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईंले राष्ट्रियसभामा वाचन गर्नुभएको कविता त विवादमा पर्‍यो नि ?

त्यही त अचम्म लागिरहेको छ । विवादमा पर्नुपर्ने केही कारण नै थिएन । यो त फगत एउटा कविता हो । साहित्य हो । साहित्यको भावार्थ नबुझिकन यसलाई भनी, त्यसलाई भनी भनेर यत्तिकै उछालिरहेका छन् ।

तपाईं एमालेको माधव समूहलाई ‘बाँदर’ भनेर कटाक्ष गर्नुभएको होइन र ?

त्यस्तो विल्कुल होइन । मैले कोही व्यक्ति वा समूहलाई लक्षित गरेर लेखेको नै होइन । मैले त प्रवृत्तिको कुरा गरेको हो । हिजो पनि, आज पनि नेपालको राजनीतिमा यस्तो गलत प्रवृत्ति छ । मैले ‘हे प्रधानमन्त्रीहरू हो’ भनेर हिजो-आजका प्रधानमन्त्रीलाई भनेको होइन । नेपालमा कतिजना प्रधानमन्त्री भइसके अहिलेसम्म । कति मन्त्री, कति वरिष्ठ नेता छन् । जो यस्तो खराब प्रवृत्तिका छन्, उनीहरू सबैलाई भनेको हो ।

राष्ट्रियसभामा भाषण गर्नुको साटो कविता सुनाउने सोच चाहिँ कसरी आयो ?

मलाई एमालेका नेता भीम रावलले धेरै अगाडि एउटा भेटमा भन्नुभएको थियो, कोमलजी तपाईं राम्रो साहित्यकार र गायिका हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा कविता र गीतमार्फत आफ्नो कुरा राख्नुस् न । मलाई पनि लाग्यो, अहो म एउटा साहित्यकार । आफ्नो क्षमताको राजनीतमा सदुपयोग किन नगर्ने ?

देशको दुरावस्थालाई लिएर मनभित्र अनेक खालका भावतरंगहरू आउँछन् । यस्ता कुराहरुलाई भाषणमा भन्दा साहित्यमार्फत पोख्दा झन् धेरै प्रभावकारी हुन्छ । अहिले पनि हेर्नुस् न, आफ्नो पार्टीको सरकार ढालेर विपक्षी पार्टीको अध्यक्षलाई प्रधानमन्त्री बनाउने कुरा कतिसम्म जायज हो ? के यो संसदीय मूल्य-मान्यताविपरीत छैन त ? योभन्दा बाँदर प्रवृत्ति के हुन्छ ? यस्तै कुराहरुले मलाई कविता लेख्न उत्प्रेरित बनाएको हो । तर, मैले कोही व्यक्ति वा समूहलाई ईंगित गरेको चाहिँ छैन ।

त्यसो भए किन मानिसहरूले माधव नेपाल समूहलाई नै भन्नुभएको भनेर बुझिरहेका छन् त ?

कवितामा विम्बहरू हुन्छन्, तीनको भाव र मर्मलाई बुझ्नुपर्छ । बुझ्न नसक्दा दिग्भ्रमित भइन्छ । म त भन्छु, मेरो कविता कुनै अब्बल साहित्यकारलाई देखाइयोस् । उहाँहरूले दूधको दूध पानीको पानी छुट्याइदिनुहुन्छ । आफूखुशी व्याख्या गरेर आफैंलाई किन दु:खी बनाउने ?

तर, फेरि पनि भन्छु, कि गलत प्रवृत्तिका शिकार भएका पात्रहरूलाई चाहिँ मेरो कविताले ‘टच’गर्छ नै । त्यो प्रवृत्तिमा म पनि हुन सक्छु । कहिलेकाहीँ त्यस्तो गर्नुभएको छ भने तपाईं पनि पर्नुहुन्छ । राजनीतिमा मात्रै पनि होइन, यो प्रवृत्ति हरेक ठाउँमा आउन सक्छ ।

कविता चाहिँ भर्खरै सिर्जना गर्नुभएको हो कि पुरानै थियो ?

मैले यही शनिबारमात्रै लेखेको हो । यसो सोचेँ, हामीसँगैका देशहरू कति विकसित भइसके । कहाँ-कहाँ पुगिसके । हामी चाहिँ उही सत्ताको खेलकुदमै सिमित छौं । विकास-निर्माणका कुराहरू ओझेलमा परेका छन् । जनताले शिक्षा-स्वास्थ्यमा आवश्यक पहुँच पाएका छैनन् । यसले जनतामा निराशा छाएको छ । यी यावत् सन्दर्भले मलाई कविता कोर्न वाध्य पारेको हो ।

शनिबार फुर्सद पनि थियो । आज कतै जान्न भनेर कविता लेखेर बसेँ । लेखिसकेर आफैंले दुईपटक पढेँ । सबै ठीक छ भनेपछि सोचविचारपूर्वक संसदमा वाचन गरेको हुँ ।

यो कविता विवादमा पर्न सक्छ भन्ने चाहिँ सोच्नुभएको थिएन ?

अहँ, सोचेको थिइनँ । विवाद हुनुपर्ने कारण नै के थियो र ? यो त सबैले मनन गर्नुपर्ने कविता हो । अनावश्यक उछाल्ने काम भयो ।

एक वरिष्ठ पत्रकारले तपाईंको व्यक्तिगत चरित्रमा प्रश्न उठ्ने गरी विभिन्न आक्षेप लगाएर स्टाटस लेख्नुभएको छ, यसबारे के भन्न चाहुनुहुन्छ ?

किशोर श्रेष्ठजीको स्टाटसबारे मैले पनि सुनेँ । पढेको चाहिँ छैन । उहाँजस्तो प्रेस काउन्सिलको अध्यक्ष भइसकेको मान्छेले मर्यादा नाघेर स्टाटस लेख्नु खेदजनक हो । उहाँले को-को मान्छेहरुसँग मलाई जोड्न खोज्नुभएको हो, म कसैलाई चिन्दिनँ पनि । उहाँले मलाई लगाएका आरोप प्रमाणित गर्न चुनौती दिन्छु । उहाँजतिको विद्वान पत्रकारले साहित्य बुझ्नुहुँदो रहेनछ, यसमा दु:ख छ ।

यसअघि रघुजी पन्तले पनि तपाईंको चरित्रहत्या हुने गरी लेख्नुभएको थियो । अहिले किशोर श्रेष्ठको आयो । तपाईंमाथि बारम्बार यस्तो ‘हमला’ किन भइरहेको छ ?

त्यो त मलाई हमला गर्नेहरूलाई नै सोध्दा राम्रो हुन्छ ।

तपाईं राजनीतिमा चाँडै ‘राइज’मा आएको भएर हो ?

खोइ, के नै राइजमा आएको छु र । यही राष्ट्रियसभा सदस्य भएको हुँ । यसमा पनि कसैलाई आपत्ति भएको हुन सक्छ । तर, मैले कसैको चाकडी गरेर होइन, आफ्नो क्षमताका आधारमा यो जिम्मेवारी पाएको हुँ । मलाई एमालेमा आउँदा नै राष्ट्रियसभामा पठाउने सहमति थियो ।

म एकैचोटि सडकबाट टिपेर ल्याएको मान्छे पनि होइन । राजनीतिमा आउनुभन्दा अगाडि पनि कलाकारितामार्फत मैले देशका लागि योगदान दिएकी छु । विगतमा म राष्ट्रिय खेलाडी पनि थिएँ । रेडियो नेपालमा पनि लामो समय काम गरे । मलाई आज देश-विदेशमा सबैले चिन्छन् । कसैको दया र कृपाबाट आज म यो स्थानमा आइपुगेको होइन ।

म ब्याकडोरबाट राजनीतिमा आएको पनि होइन । हिजो छोटो समय राप्रपामा थिएँ । राजनीतिमा पार्टी परिवर्तन सामान्य हो । मन्त्री-प्रधानमन्त्री भएकाहरुले त पार्टी फेरेका छन् । फेरि म राप्रपामा लामो समय रहेर छोडेको भए मलाई अवसरवादी भन्न मिल्थ्यो । केही महिना न बसेको हो । थोडी १० वटा पार्टी फेर्दै हिँडेको छु र ?

अहिले म एमालेको एउटा इमान्दार कार्यकर्ता हुँ । कतिपयले भनेका छन्, एउटा मामूली सांसदले वरिष्ठ नेताहरूलाई पाठ सिकाउन खोज्ने ? म के भन्छु एउटा सामान्य कार्यकर्ताले पनि आफ्नो विचार स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउँछ । त्यो हक छ । मैले मात्रै नपाउने भन्ने कुरा हुँदैन ।

वलीले हिजो राष्ट्रियसभामा वाचन गरेको कविता :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर