एमाले बनेपछि माओवादीले पदमुक्त गराएका ५ उपप्रमुख अदालतबाट पुनर्वहाली – Nepal Press

एमाले बनेपछि माओवादीले पदमुक्त गराएका ५ उपप्रमुख अदालतबाट पुनर्वहाली

काठमाडौं । माओवादीको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो,मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

त्यस्तै यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै सो पार्टीको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो ।

पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली भइसकेका छन् । यी पाँच जनप्रतिनिधि पनि पुनर्वहालीसँगै पदभार ग्रहण गरेका छन् ।

रौतहटका सांसद समेत रहेका माओवादी नेता प्रभु साह एमालेमा लागेसँगै उनको क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि पनि एमाले भएका हुन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई कामकाज गर्नबाट नरोक्न अदालतले आदेश दिएको छ ।

माओवादीले विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएका थियो । उनीहरु सबै अदालतबाट पुनर्वहाली भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर