मुख्यमन्त्रीसँग मिडिया विधेयक सच्याउन लुम्बिनीका पत्रकारको माग – Nepal Press

मुख्यमन्त्रीसँग मिडिया विधेयक सच्याउन लुम्बिनीका पत्रकारको माग

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको विद्येयक मिडियामैत्री नभएको भन्दै सच्याउन माग गर्दै लुम्बिनीका पत्रकारले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश सरकारको मुकाम रहेको बुटवलमा पत्रकार महासंघ रुपन्देहीले मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो भने अन्य जिल्ला शाखाहरुले ती जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सरोकारवालासँग छलफल गराएर सञ्चारमैत्री विद्येयक निर्माणको वातावरण बनाउन माग गर्दै मिडियालाई अंकुश लगाउने खालको विद्येयक कुनै हालतमा स्वीकार्य नहुने बताइएको छ ।

ज्ञापनपत्रमा संविधानले ग्यारेन्टी गरेको मर्म र भावनालाई समेत विधेयकले बेवास्ता गरेको उल्लेख छ । विद्येयकमा सञ्चारमाध्यम प्रकाशन प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लंघनमा कारवाही गर्ने, सञ्चारकर्मीलाई रजिष्टारले एक वर्षसम्म कैद सजायँ तथा जरिवाना गर्नसक्ने प्रावधान राखिएको छ ।

ज्ञापनपत्रमा नियामक निकायको अध्यक्ष मन्त्री र अधिकांश सरकारी निकायकै बर्चस्व हुने गरी निर्माण हुने संयन्त्रबाट स्वतन्त्र र निष्पक्ष नियमन कसरी हुन्छ ?’ भनी पश्न गरिएको छ । महासंघले प्रदेश सरकार यसरी नै अघि बढे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित भएपछि प्रमुख सचिव भरतमणि सुवेदीलाई ज्ञापनपत्र बुझाइएको रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट ज्ञापनपत्र पठाइएको पत्रकार महासंघ प्रदेशका अध्यक्ष बसन्त गिरीले जनकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर