माधव नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल – Nepal Press

माधव नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल भएको छ ।

पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

नेपाल गठबन्धनबाट फर्किए उनले भने बमोजिम नै पार्टी अघि बढ्ने भन्दै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले बताए ।

नेम्वाङले नेपाल प्रेससँग भने, हामीले उहाँलाई भेटेर आग्रह गरेका छौं । तपाईहरू दुई नेता मिल्नुस्, मिल्नुको विकल्प छैन भनेका छौं । अध्यक्षले भेटेर कुरा गर्न खोज्नु भएको छ, तपाईं कुरा गर्नुस् भन्यौं । तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन ।

नेता नेम्वाङले आफूहरुले दुई नेता मिलेको सन्देश दिन आग्रह गरेको बताए । नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग समेत सल्लाह गरेर खबर गर्ने बताएको उनको भनाइ छ । नेम्वाङले भने, ‘उहाँले हाम्रो कुरा सकारात्मक छ भन्नुभयो । अरु साथीहरूसँग पनि सल्लाह गर्छु भन्नुभएको छ । एमाले मिलेको सन्देश दिन दुई नेता बसेर कुरा गर्नुस् भनेका छौं हामीले, त्यो भनेको विपक्षी गठबन्धनबाट फर्किनुस् भनेको हो । नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल निवासमै वार्ताकार अर्का सदस्य घनश्याम भुसाल पनि थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका छन् ।

नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको स्रोतले जनाएको छ ।

नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् ।

उनले अदालतमा चलिरहेको मुद्दालाई बाहेक राखेर एमालेको एकताका लागि अघि बढ्न सकिने र त्यसका लागि आफू र ओलीले गठन गरेको वार्ता टोलीलाई नै पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “माधव नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल

  1. People elected KP oLi and team for 5 years to govern the country. But Madhav Nepal-fully conspired and made the government of own party unstable, far away from enabling condition, huge damage in party’s image. This is really unfortunate to the country and people. I am sure that Mr. Madhav Nepal will not have internal happiness in his whole life and will go to hell after his death. All leaders should be united in YEMALE except Mr. Madhav Nepal, Bhim Rawal and Ram Kumari Jhakri.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर