माधव नेपाललाई मनाउन वार्ता टाेलीका नेताहरु कोटेश्वर पुगे – Nepal Press

माधव नेपाललाई मनाउन वार्ता टाेलीका नेताहरु कोटेश्वर पुगे

काठमाडौं । नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरु माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।

केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् । यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन् ।

एमाले बैठकले माधव नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट वार्ताकार नेताहरुले नेपाललाई भेटेका हुन् ।

समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट बिष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । वार्तामा प्रदीप ज्ञवाली र बिष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् ।

त्यसतै नेपाल पक्षबाट घनश्याम भुसाल,सुरेन्द्र पाण्डे,भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् । यी नेताहरुबीच विहीवार साँझ सहमतिको मस्यौदा समेत बनेको थियो । तर माधव नेपाल शुक्रवार आफ्नै समूहका नेताहरुको समेत सम्पर्कमा नरहेपछि मस्यौदा अलपत्र परेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर