घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री – Nepal Press

घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्‍घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धिमार्फत् आयात प्रतिस्थापन, उत्पादित विद्युतको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढङ्गले अघि बढाएकोसमेत बताए ।

‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरू नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं,’ प्रधानमन्त्रीले भने ।

नेपालले करिब एक सय १० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरूमा जलाशय युक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उनले बताए ।

‘हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई हो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा हो,’ उनले भने ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताए । ‘कोभिडसँग लड्नुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, उनको भनाई थियो ।

यद्यपि, सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उनले समूहगत रूपमा क्रमश: सबै जनतालाई खोप लगाइने बताए । यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्थापनामा सरकारले ध्यान दिइरहेको बताए

समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सवस्टेसनदेखि किस्पाङ गाउँपालिकामा रहेको त्रिशुली ३ बी हब सवस्टेसन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।

कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो प्रसारण लाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसँग समेत जोड्ने योजना नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगा वाट. भन्दा बढी विद्युतलाई सिधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *