पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु – Nepal Press

पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखा । पहिरोले घर पुरिँदा गोरखामा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उनले बताए । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।

युवकको उद्धार

उत्तरी गोरखाको आरुघाट गाउँपालिका-३, सोतीस्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ । खोलाले बगाएका आरुघाट गाउँपालिका-१ श्यामचेतका २६ वर्षीय किरण लामालाई स्थानीयवासीले उद्धार गरेको प्रहरीले जनाएको छ ।

बिहान करीब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासि खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पुर्‍याएको थियो । घटनालगत्तै स्थानीयवासीले देखेपछि लामाको उद्धार गरिएको उनको भनाइ छ ।

अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रनाउ दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *