नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा – Nepal Press

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।

चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ ।

पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ । नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर