सबै गाडी चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटे, २१ गतेसम्म कुर्ने – Nepal Press

सबै गाडी चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटे, २१ गतेसम्म कुर्ने

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायातसम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।

गत असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरी सो निर्णय खारेज नभए स्वतस्फुर्तरुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा विहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै ४ दिनको समय मागेका थिए । प्रजिअले केही समय मागेकाले आफुहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले भन, ‘जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले २१ गतेसम्म पर्खिन सहमत भएका हौं ।’ अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गतेदेखि सबै सवारीसाधन सञ्चालन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर