किन आयो छोटी भन्सार पुनःस्थापनाको माग ? – Nepal Press

किन आयो छोटी भन्सार पुनःस्थापनाको माग ?

रुपन्देही । द्वन्द्वकालमा विस्थापित रुपन्देहीका छोटी भन्सारहरु पुनःस्थापना नगरेसम्म सीमा क्षेत्रमा अपराध नियन्त्रण तथा चोरी पैठारी नियन्त्रणमा कमी नआउने सुझाव स्थानीयले जिल्ला प्रशासनलाई दिएका छन् ।

उनीहरुले अविलम्ब छोटी भन्सारहरु पुनःस्थापना गरी नियमित कामकाजमा सहजता ल्याउन आग्रह गरेका हुन् । छोटी भन्सारकै अभावमा पनि सीमा क्षेत्रमा अपराध न्युनीकरण हुन नसकेको उनीहरुको दावी छ ।

सीमा क्षेत्रका अगुवा सञ्जयकुमार गुप्ताले भारतबाट अहिले बिभिन्न भारतीय नम्बर प्लेटका सवारीहरु आउने र अपराध गरेर भारततर्फ भाग्ने गरेको कारण यसको नियन्त्रणको लागि पनि छोटी भन्सार आवश्यक रहेको तर्क गरेका छन् ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले भारतीय पक्षले रोहिणी क्षेत्रका अधिकांश गाउँ नै डुबानमा पर्ने गरी सडक बनाएकोमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुटनीतिक पहल हुन नसकेको बताए । भारतले एकतर्फी रुपमा सडक बनाउँदा रोहिणीको वडानम्बर ५,६ र ७ का अधिकांश गाउँ र खेती योग्य जग्गा डुबानमा परेको उनले बताए ।

सीमा क्षेत्रमा हुने अपराधका कारण दशगजासंगै सटेर रहेका मदिरा पसल र बिभिन्न गोदामहरु पनि संचालन हुने गरेको वक्ताहरुले बताए । स्थानीय प्रशासनले व्यवसाय दर्ता गर्दा पनि सीमा क्षेत्रबाट निश्चित दुरी तोकेर मात्र अनुमति दिनुपर्ने उनीहरुको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालयले यसै आर्थिक वर्षमा सीमासंग सटेर रहेका ४ वटा स्थानीय तहमा यस्तो वहस चलाउने जनाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी बिजयकुमार पौडेलले रोहिणी, सम्मरीमाई, मर्चवारी गाउँपालिका र सिद्धार्थनगर नगर पालिका वा लुम्बिनी सांस्कृतिक नगरपालिकामध्ये कुनै एक स्थानमा यस्तो अन्तरक्रिया गर्ने बताए ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच हुने कामहरुमा पनि सहजता ल्याउने र सीमामा हुने अपराधिक क्रियाकलापको न्यूनिकरण मात्र नभई जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासुविधाबारे पनि स्थानीयहरुलाई जानकारी दिन आवश्यक रहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर