अपराधपछि फरार, ४४ वर्षपछि पक्राउ – Nepal Press

अपराधपछि फरार, ४४ वर्षपछि पक्राउ

रुपन्देही । रुपन्देहीमा २०४० साल वैशाख ८ गते सर्वोच्च अदालतले जन्मकैद सुनाएका दुई पुरुषलाई प्रहरीले बल्ल पक्राउ गरेको छ ।

२०३४ साल जेठ २३ गते दुईजनाको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतकोे ०४० साल वैशाख ८ गतेको फैसलाले जन्मकैद सजाय तोकेको थियो । प्रहरीले कर्तव्य ज्यान मुद्दामा यति लामो समयदेखि फरार रहेका ७० वर्षीय दुईजना पुरुषलाई पक्राउ गरेको छ ।

०३४ साल जेठ २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरी फरार रहेका रुपन्देहीको साविक बलरामपुर गा.वि.स.७ हाल लुम्बिनी सांस्कृतिक नगरपालिका २ बस्ने ७० वर्षीय चिनगुद चाई र सोही स्थानका ७० वर्षीय कप्तान चाई पक्राउ परेका हुन् ।

सर्वोच्चको २०४० साल वैशाख ८ गतेको फैसलाले उनीहरुलाई जन्मकैद सजाय तोकेपनि उनीहरु हालसम्म पनि प्रहरीको नजरमा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले लामो समयसम्म उनीहरुको आफ्नै घरबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार जिल्ला अदालत भैरहवामा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको प्रहरीले जनाएको छ ।

बैशाख १ गतेदेखि फरार रहेका प्रतिवादीविरुद्ध अप्रेशन संचालन गरेको रुपन्देही प्रहरीले साढे दुई महिनाको अवधिमा जघन्य अपराधमा संलग्न १० वर्षभन्दा बढी सजाय तोकि फरार रहेका २१ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर