दमकको बजेटको नारा: ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म( पूर्णपाठ) – Nepal Press

दमकको बजेटको नारा: ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म( पूर्णपाठ)

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन  नीति तथा योजना अघि सारिएको छ ।

नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन् ।

एक अर्ब ३८ करोडको बजेट

नगरपालिकाले आगामी आव २०७८÷७९ का लागि एक अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट निर्माण गरेको छ । नगरले भौतिक पूर्वाधारको साथै आर्थिक, सामाजिक विकासका गतिलाई अघि बढाउने उद्देश्यले कृषि, उद्योग, वाणिज्य तथा पर्यटन, सहकारी, पशुपक्षी विकास, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य तथा सामाजिक सुरक्षा र संरक्षण, खानेपानी, सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलगायतका क्षेत्रका लागि ४२ करोड ५२ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा नगरले आठ करोड ९७ लाख ६८ लाख बजेट छुट्याइएको छ । नगरपालिकाले सङ्घीय सरकारले तोकेअनुरुप नै विद्यालयमा कार्यरत बालशिक्षिका र कर्मचारीलाई प्रतिव्यक्ति मासिक सात हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुन्जेलसम्म करार कर्मचारीले पाए सहर संचय कोषको सुविधामा आवद्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।

कृषिक्षेत्र जनजीविकाको महत्वपूर्ण आधार भएको हुँदा कृषकलाई प्रोत्साहन गर्न अनुदान तथा निःशुल्क सेवाको व्यवस्था गर्न रु एक करोड नौ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भइसकेको हुँदा ‘नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाउँमा’ भन्ने नारा तयार गरेर नगरले अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले पर्यटकीय गन्तव्यमा फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थान, मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिनुका साथै छुट्टाछुट्टै स्थानको प्रोफायल तयार गर्ने योजना बनाएको छ ।

 

निरोगी शहर दमक

दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी शहर’ बनाउने प्रण गरिएको छ । पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने ११ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताइन्।

कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उनले बजेटमा उल्लेख गरेकी छन् । घरमै सुत्केरी गराउने कार्य शून्यमा पुर्‍याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पुर्‍याइने जनाइएको छ ।

महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्र्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बतााइन्। नगरवासीलाई निःशुल्करूपमा कोरोनाविरुद्धको खोप छिटो लगाउन सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ ।

‘कच्ची सडकमुक्त’ नगर दमक

नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आवभित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकाङ्क्षी योजना छ । नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन । नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ ।

उपप्रमुख अधिकारीका अनुसार आव २०७८/७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पुर्‍याउने कार्य सम्पन्न हुनेछ । नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ ।

नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८/७९ का लागि  ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र  चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ ।

‘मनमोहन भत्ता’को शुरुआत

सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ ।

ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ । नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ ।

कृषिमा अनुदानै अनुदान

कृषि क्षेत्रमा बढ्दो निराशालाई आशामा बदल्न दमक नगरपालिकाले व्यावसायिक तथा सामूहिक खेतीमा प्रशस्त अनुदान दिने कार्यक्रम ल्याएको छ । ‘कृषिमा प्रोत्साहन, अनुदानै अनुदान’ कार्यक्रमअन्तर्गत नगरभित्रका कृषि समूह तथा कृषि सहकारीलाई सिँचाइका लागि खपत भएको विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने भएको छ ।

कृषि चुन र माटो परीक्षण सेवा निःशुल्क पाइने तथा जैविक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरको नीति रहेको छ । वैदेशिक रोजगारीको साटो स्वदेशमै कृषि उद्यममा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले सामूहिक खेतीमा नगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाकाले ‘खनौँ आफ्नो माटो, छोडौँ विदेशको बाटो’ नारा तय गरेको छ । ‘बालीमा विषादी, स्वास्थ्यमा बर्बादी’ अभियान सञ्चालन गरी नगरले विषादीको प्रयोग न्यूनीकरण गर्ने र जैविक खेतीलाई प्रोत्साहित गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर