राष्ट्रपति सीको सम्बोधन : चीनलाई घेर्नेविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै उभिनेछन् – Nepal Press
आज चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष

राष्ट्रपति सीको सम्बोधन : चीनलाई घेर्नेविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै उभिनेछन्

‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ'

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०० वर्ष मनाउँदैछ । चीनसहित विश्वभर चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छुकले यो वर्षगाँठलाई मनाइरहेका छन् ।

सयौं वर्षगाँठलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने बताएका छन् । साथै, उनले चीनलाई असर पुर्‍याउन खोज्ने तत्वविरुद्ध आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिए ।

विश्लेषकहरुले चिनियाँ राष्ट्रपतिको यो चेतावनी अमेरिकासहितका पश्चिमा मुलुकविरुद्ध लक्षित भएको बताएका छन् । बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएको उल्लेख छ ।

‘चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन्’ सीले आफ्नो सम्बोधनमा भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य बदलेको छ ।’

सम्बोधनमा सीले चिनियाँ कम्युनिष्ट पार्टीका अग्रणी नेताहरु माओत्से तुङ, देङ जिआओपिङ, जियाङ जेमिन र हु जिन्ताओप्रति सम्मान व्यक्त गरे । ताइवानसँग एकताका लागि चीनले अबिचलित प्रतिबद्धता जनाएको समेत उनले बताए । ‘आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र देश रक्षा गर्ने चिनियाँ जनताको सक्षमतालाई कसैले पनि दुष्प्रयास गर्नुहुँदैन’ उनले भनेका छन् ।

विहिबार विहान आयोजित समारोहमा चिनियाँ आकाशमा सैन्य जहाज उडाइएका थिए भने राष्ट्रवादी गीत पनि बजाइएका थिए । तियानमेन स्क्वायरमा उपस्थित अधिकांशले मास्क पनि लगाएका थिएनन् । आजै, हङकङले पनि ‘ह्यान्डओभर डे’ मनाउँदैछ ।

झन्डै एक घण्टाको सम्बोधनमा राष्ट्रपति तथा महासचिव सीले आधुनिक समयमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिकाको चर्चा गरे । उनले देशलाई असफल बनाउन नदिइने प्रतिबद्धता समेत जनाए । ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ । चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुनसक्छ’ उनले भनेका छन् ।

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्ष अगाडि शक्तिमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *