एमाले केन्द्रीय कमिटी बैठकमा सहभागिताबारे माधव नेपाल पक्ष आन्तरिक छलफलमा – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागिताबारे माधव नेपाल पक्ष आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरी अध्यक्ष केपी शर्मा ओलीले विहीबार डाकेको केन्द्रीय कमिटीको बैठकमा भाग लिने कि नलिने भन्ने सन्दर्भमा सामूहिक धारणा तय गर्न माधव नेपाल पक्षका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

बुधवार सम्पन्न महाधिवेशन आयोजक कमिटीले सर्वोच्च अदालतको आदेश र माधव समूहको माग बमोजिम २०७५ जेठ २ कै केन्द्रीय कमिटी र त्यसपछि एकतामा समाहित भएका नेताहरूसहितको बैठक बोलाउने निर्णय गरेको छ ।

अबको बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीकै हैसियतमा माधव नेपाल पक्षका नेताहरुलाई सहभागी हुन आह्वान गरिएको छ । महाधिवेशन आयोजक कमिटी भंग भएसँगै नेपालसहित ११ जना विघटित प्रतिनिधिसभा सदस्यहरुमाथि गरिएको कारवाही पनि निष्क्रिय भएको छ ।

माधव नेपाल पक्ष भने असार १८ गते बोलाइएको केन्द्रीय कमिटीमा सहभागिताको सन्दर्भमा धारणा बनाउन आन्तरिक छलफलमा जुटेको एक नेताले बताए । नेपाल निकट नेता गोकर्ण विष्टले आफूहरू बैठकमा रहेको भन्दै थप प्रतिक्रिया दिन चाहेनन् ।

नेपाल पक्षका केही नेता संस्थापन पक्षसँग निरन्तर संवादमा छन् । नेपालसहितका नेताहरुको कारवाही फुकुवा र २०७५ जेठ २ को अवस्थामा फर्किए पार्टी एकता हुने बताइरहेका बेला बुधवारको बैठकले पूर्ववत कमिटीमा फर्किने निर्णय गरेको छ ।

तर, नेपाल पक्षले भने जस्तो जेठ २ अघिको कमिटी नभई एमालेबाट नेकपा एकताको बेला थपिएका ४१ जना र नेकपा एकतापछि एमालेमा समाहित भएका पूर्व माओवादीका २३ जना केन्द्रीय सदस्यसहितको बैठक बोलाइएकाले नेपाल पक्षले त्यो बैठकमा सहभागिताबारे निर्णय गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर