एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड – Nepal Press

एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड

फिल्म र सिनेमा घरको जित : विज्ञ

लस एन्जल्स । हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला ‘एफ-९’ले कोरोनाभाइरस महामारीयताकै सर्वाधिक कमाइको रेकर्ड राखेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकी बक्सअफिसमा ७० मिलियन डलरको ओपनिङ गर्‍यो ।

सन् २०१९ को डिसेम्बर १९ मा प्रदर्शन भएको ‘स्टार वार्स : द राइज अफ स्काइवाकर’ रिलिजयता एफ-९ ले उक्त कमाइ गर्न सकेको हो । भीन डिजेल स्टारर यो फिल्मको यो कमाइलाई महामारीकै बीचमा हलिउड र सिनेमा घरको विजयको रुपमा हेरिएको छ ।

सन् २०१९ मा रिलिज भएको प्रिक्वेल ‘हब्स एन्ड स’को पहिलो सप्ताहन्तको ६० मिलियन डलर कमाइलाई समेत सजिलै एफ-९ ले उछिन्यो । तर, सन् २०१७ को ‘फेट अफ दी फ्युरियस’को ९८.८ मिलियन डलरको कमाइलाई पनि यसले छुन सकेन ।

महामारीले थलिएको बक्सअफिसमा लयमा फर्कँदै गर्दा हासिल भएको यो कमाइलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । आइतबारसम्म जस्टिन लिन निर्देशित यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा ४०५ मिलियन डलर कमाइ गरेको छ ।

२२५ मिलियन डलरमा निर्माण भएको एफ-९ ले अझै ६०० मिलियन डलरभन्दा बढीको आँकडालाई पार गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *