वडा कार्यालयले दिने भयो एकल पुरुषलाई मासिक भत्ता – Nepal Press

वडा कार्यालयले दिने भयो एकल पुरुषलाई मासिक भत्ता

रुपन्देही । गाउँपालिकाले वडालाई दिएको बजेटबाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।

वडाध्यक्ष गजबहादुर क्षेत्रीले गाउँपालिकाबाट वडालाई प्राप्त हुने बजेटबाट आगामी आर्थिक वर्षदेखि ६० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने प्रस्ताव गाउँसभामा लगेर पारित गरेको नेपाल प्रेसलाई बताए ।

‘हामीले ५० कटेका एकल पुरुषलाई भत्ता दिने योजना बनाएका थियौं तर संघीय कानुनले अन्य भत्तामा ६० बनाएकाले ६० बनाएर पास गरेका हौं’ उनले भने, ‘गाउँसभाबाट पास भएको छ अब कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने हो ।’

कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने उनले बताए । भने, ‘तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।’

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि वडालाई उपलब्ध गराएको ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारिएको उनले बताए । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ ।

त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिका भित्र वसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहायहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयको निःशुल्क स्वास्थ्य बीमाका लागि सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

यस्तै वडाले शिक्षा र स्वास्थ्यलाई गरीब विपन्न वर्गको पहुँचसम्म पुर्याउन यस्तो कार्यक्रम ल्याइएको हो । गरिबलाई विद्युत्मा सहज पहुँच पु¥याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ ।

प्रतिमहिना २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ । पालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडा नं ४ बाट आएको एकल पुरुषलाई भत्ता दिने प्रस्ताव सभाबाट पास भएको बताए । यसको प्रभावकारिता कस्तो रहन्छ, त्यो हेरेर आगामी दिनमा अन्य वडामा समेट्न सकिन उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर