जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो – Nepal Press

जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

लहान ।

  • सिरहाको लहान नगरपालिका- १ गोरछारीका निरज नारायण महतो चीनबाट एमबीबीएस. गर्दैछन् । १७ महिनाअघि अर्थात् २०७६ पुस २४ गते ३५ दिनको जाडो बिदामा घर आएका उनी फर्कन पाएका छैनन् ।
  • झापा दमककी अस्मिता शाह चीनको चाङ्सा मेडिकल युनिभर्सिटीमा डाक्टरी पढ्दै छिन् । उनी पनि विदामा घर आएपछि फर्किन पाएकी छैनन् ।
  • महोत्तरीको वलवा नगरपालिका- ५ का सुनिज यादव चीनको छिन्छियाङ मेडिकल युनिर्भसिटीमा एमबीबीएस पढ्दैछन् । विदामा घर आएका उनी पनि फर्केर चाइना जान पाइरहेका छैनन् ।

महतो, शाह र यादव जस्तै सन् २०१४ र २०१५ को शत्रमा चीनमा एमबीबीएस गर्दै गरेका नेपालका लगभग ३ सय विद्यार्थी विदाको समयमा नेपाल आए, तर कोरोना कहरका कारण उनीहरु चीन फर्कन पाएका छैनन् । जसकारण उनीहरुको पढाइ प्रभावित भएको छ ।

उनीहरुले पटक-पटक नेपाल सरकारसंग चीन फर्कने वातावरण बनाइदिन गुहार मागिसके । तर उनीहरुको कुरा कसैले सुनेको छैन । जसकारण धेरै लगानी गरेर डाक्टर पढ्न गएका विद्यार्थी र उनीहरूका अभिभावक चिन्तामा छन् ।

छुट्टीमा नेपाल आएका महतो फर्कने तरखर गरिरहेका बेला चीनमा लकडाउन भयो । कोरोना महामारी विश्वव्यापी भएपछि चीनले बाहिरका नागरिकलाई प्रवेशमा रोक लगाएपछि उनी चीन फर्कन नपाएका हुन् । उनले ‘ईनटर्नसीप’ पनि गर्न पाएका छैनन् ।

सन् २०१४ को व्याचका विद्यार्थीले पढाइ सकेर ६ महिनासम्म ईनटर्नसीप गरेका छन् । तर सन् २०१५ को शत्रका विद्यार्थीले ‘थेउरी’ कक्षासमेत लिन नपाएको महतोको भनाइ छ ।

३५ दिने जाडो बिदामा घर फर्केकामध्ये केहीको ६ महिना ‘थेउरी’ क्लाससमेत बाँकी थियो । उनीहरुले कोरोना कहरबीच नै अनलाईनमार्फत् सैद्धान्तिक कक्षा पूरा गरे । महतोले भने, ‘अहिले जुन महिनाबाट ईनटर्नसीप शुरू हुनुपर्ने तर चीन फर्कन नपाउँदा १७ महिनासम्म त्यत्तिकै बिताउनु परेको छ ।’

महतोका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि तत्काल आउने वातावरण नभएकाले नेपालमा इन्टर्नसीप गर्न मिल्ने भए कलेजले आवश्यक सबै कागजात पठाउने भनेको छ । उनले भने, ‘चीनका कलेजहरूले आफ्नै देशमा मिल्छ भने इन्टर्नसीप गर्नू भनेर नेपाली विद्यार्थीलाई पत्राचार गरेको छ, तर नेपाल सरकारले त्यसमा चासो नै दिएको छैन ।’

कोरोना महामारीको दोस्र्रो भेरियन्ट आइसकेको र तेस्रो भेरियन्ट आउने विज्ञले चेतावनी दिइरहेका कारण तत्काल चीन फर्कन सक्ने अवस्था नभएकोप्रति विद्यार्थी चिन्तित छन् । ‘हामीले यो बिषम परिस्थितिमा नेपालमै ईन्टर्नसीप गर्न पाउनु पर्दछ’, महतोले भने, ‘हामीले मेडिकल काउन्सिलको ढोका पनि ढक्ढक्यौं, तर काउन्सिलले पनि केही गरेन ।’

चीनस्थित दूतावासले आफ्नो देशमा ‘इन्टर्नसीप’ गर्न भनेपछि थप प्रतिक्रिया दिन नचाहेको विद्यार्थीको भनाइ छ । ‘हामीलाई निकै गाह्रो भइसक्यो’ महतोले दुखेसो पोखे, ‘हाम्रो लगानी र भविष्य नै अन्योलमा परिसक्यो, अझै कति दिन यसरी बस्ने ?’

जग्गा बेचेर कलेजलाई बुझाएको पैसा डुब्ने चिन्ता

एमबीबीएस अध्ययनका गर्नका लागि प्रत्येक नेपाली विद्यार्थीले चीनको कलेजलाई मात्रै ३० देखि ४० लाख रूपैयाँ कलेज अनुसार बुझाएका छन् । जग्गा जमिन बेचेर सयकडा पाँच रुपैंया ब्याजमा ऋण लिएर कलेजलाई बुझाएका विद्यार्थी र अभिभावक ‘डिप्रेशन’को अवस्थामा पुगेको महतो बताउँछन् ।

‘म किसानको छोरा, लहान बजारको जग्गा बेचेर र ऋण काडेर डाक्टर बन्ने सपना पूरा गर्न बुबा आमाले मलाई विदेश पठाउनु भयो’, उनले थपे, ‘तर हामी १७ महिनादेखि अलमलको अवस्थामा छौं । दिनमा भोक र रातमा निद्रा लाग्दैन ।’ बुवाआमाको पीडा सम्झेर झन् चिन्ता थपिएको उनको भनाइ छ ।

‘छोराछोरी पढाएर डाक्टर बनाउने सपना नै अन्यौल भएपछि कुनै पनि बेला जे सुकै गर्न सक्ने अवस्थामा पुगेका छौ’, उनले भकानिँदै पीडा पोखे, ‘ऋणको भारीले थिचिएको छ । साहु दिनहुँ घरमा आउछन्, के भनेर टार्ने ?’

अस्मिता शाहको पीडा पनि उस्तै छ । ‘चर्को ब्याजमा ऋण लिएर अनि जग्गा जमिन बेचेर चीनमा एमबीबीएस गर्न परिवारले पठाए । छोराछोरीले पढाइ पूरा गरेपछि कमाउनेछन् भन्ने आशा सबै अभिभावकलाई हुनु स्वभाविक हो’ अस्मिता भन्छिन्, ‘पढाइ सकेर कमाउने कुरा अन्योलग्रस्त छ, महिनैपिच्छे ब्याज तिर्नै नसक्ने स्थिति आइसक्यो ।’

सरकारले अनुमति दिएर नेपालमै ईन्टर्नसीप मात्रै गर्न पाए पनि ठूलो राहत मिल्ने उनको भनाई छ ।

महोत्तरीको यादवको पीडा पनि महतो र शाहको जस्तै छ । डाक्टर बन्नका लागि लिएको ऋणले भतभती पोलिरहेको उनी बताउँछन् । ‘पढाइका लागि भएको जग्गा जमिन पनि बेच्यौं, अहिले जिन्दगीनै अन्धकारमय भएको छ’, यादवले भने, ‘नियमित पढाई चलेको भए यतिबेला हामी ‘इन्टर्नसीप’ गरेर डाक्टरको लाइसेन्स लिइसकेका हुन्थ्यौं । अब कहिलेसम्म यसरी थन्किएर बस्नुपर्ने हो केही टुंगो छैन ।’

छिमेकी र आफन्तलाई दिने जवाफ पनि हुन छाडेको यादवको भनाइ छ । ‘कहिले त ब्यर्थै एमबीबीएस पढ्न चीन गइएछ जस्तो लाग्छ’, पछुताउँदै उनले भने, ‘डाक्टर बन्ने सपनाले जिन्दगी नै सकिएला भन्ने डर लाग्न थालेको छ ।’

नेपालमै ईन्टर्नसीप गर्न पाउनुपर्ने माग

विद्यार्थीहरुले कि चीन जान कि त नेपालमै ईन्टर्नसीप गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । यसका लागि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा निबेदन दिएका छन् । तर काउन्सिलले मेडिकल शिक्षा आयोग भक्तपुरले स्वीकृति दिनुपर्ने जवाफ दिएको विद्यार्थीहरु बताउँछन् ।

महोत्तरीका विद्यार्थी यादव भन्छन्, ‘अहिले कोरोनाका कारण आयोगसम्म हामी जान सकेका छैनौ ।’ उनीहरुले नेपालस्थित चिनियाँ दूतावासमा फोन र ईमेल गर्दा त्यसको जवाफ नपाएको गुनासो गरेका छन् । दमकी छात्रा शाहले नेपालमा पनि लकडाउन भएकोले अहिले चुपचाप बस्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘तर हामी लकडाउन खुकुलो हुनेबित्तिकै सरकारलाई थप दबाब दिन्छौ ।’

अहिले कारोनाका कारण नेपालमा धेरै स्वस्थ्यकर्मीको खाँचो परेको भन्दै उनीहरुले जतिसुकै अफ्ठेरोमा गएर भए पनि ईन्टर्नसीप गर्न तयार रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर