ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार – Nepal Press

ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार

काठमाडौं । मनाङमा एक शिक्षकले ट्यूसन बढ्न आएका विद्यार्थीहरुमाथि निरन्तर यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । युकेजी र प्ले ग्रुपमा पढ्ने बालिकाहरुमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् ।

मनाङको नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयका शिक्षकले विद्यार्थीमाथि निम्नस्तरको हर्कत गरेका हुन् । नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय शिक्षक अजयराम गुरुङविरुद्ध ४ जना अभिभावकल प्रहरीमा उजुरी गरेका थिए ।

ट्युसन पढाउने क्रममा गुरुङले बालिकाहरुलाई काखमा राखेर संम्वेदनशील अंगमा हात पुर्याउने गरेको बालिकाहरुले बताएका छन् । आफ्ना बच्चाहरु ट्युसन पढ्न जानै डराउन थालेपछि अभिभावकले फकाएर सोधेका थिए ।

नार्पाभूमी गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार विगतमा पनि विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गर्ने गरिएको सुनिएको थियो । उजुरी भने पहिलोपटक परेको हो ।

गाउँपालिका अध्यक्ष लामाले भने, ‘पहिले उजुरी नगरेपछि शिक्षकको मनोवल बढेको हुन सक्छ । यस विषयमा थप बुझदैछु ।’

नार आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । हाल निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि शिक्षकले ट्युसन पढाउने गरेका थिए । तर, ४ अभिभावकको उजुरी पश्चात शिक्षक गुरुङलाई हिजो नै पक्राउ गरिएको प्रहरी चौकी मेहेताले जनाएको छ ।

आरोपीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मनाङमा ल्याउन नसकिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले बताए ।

उनले नेपाल प्रेसलाई भने, ‘हामीले सामान्य जानकारी मात्रै पाएका छौं । एक-दुईदिनमा यहाँ ल्याइपुग्छ होला ।’

मुद्दा जिल्ला प्रहरी कार्यालयमा आइसकेपछि मात्रै थप अनुसन्धान हुने अधिकारीले बताए । मनाङमा बाढी पहिरो गएका कारण सडक सम्पर्क टुटेकाले सदरमुकाम ल्याउन समस्या भएको हो । बाढीले विजुलीका संरचना समेत बगाएकाले प्रहरी चौकी मेहेतासँग सम्पर्क हुन नसकेको हुँदा अनुसन्धान गर्न अझै केही दिन लाग्ने उनी बताउँछन् ।

‘टेलिफोन सम्पर्क टुटेको छ । जानकारी पनि राम्रोसँग आइनसकेकाले केही भन्न सक्ने अवस्था छैन । चौकी इन्चार्जसँग सम्पर्कका लागि प्रयास भए पनि हुन सकेको छैन,’ उनले भने ।

प्रहरी चौकी मेहेताबाट जिल्ला प्रहरी कार्यालय पुग्न एक दिन लाग्छ । प्रहरीको टोली बाढीपिडितहरुको उद्धारमा खटिनुपरेकाले सदरमुकाम ल्याउन समस्या भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर