वागमतीबाट एमाले एकतालाई दबाब दियौं, अब म मुख्यमन्त्री बन्दिन – Nepal Press
नेपाल चिन्तन

वागमतीबाट एमाले एकतालाई दबाब दियौं, अब म मुख्यमन्त्री बन्दिन

अदालतले जेठ २ मा फर्किने आधार दियो, कोही झुक्न पर्दैन

फागुन २३ को फैसलाले हामीलाई एमालेजति एक ठाउँमा बस भने पनि अहिलेको विडम्बना नै भन्नुपर्छ हामी एमाले एक ठाउँमा छैनौं । अलग पार्टीको अभ्यास गर्ने दुःखद अवस्थामा पुग्यौं । हाम्रा कारण हाम्रै सरकारहरू ढल्ने अवस्था बन्यो ।

यस्तो अवस्थामा हामीले वागमती प्रदेशबाट एमाले एकताका लागि सकारात्मक सन्देश दिन चाह्यौं । कस्तो स्थिति बन्यो भने अब नीति कार्यक्रम पारित नगरी नहुने भयो । केपी ओलीसँगमात्रै रिसाएर बसेर त भएन । यो एमाले पार्टी त हामीले दुःख गरेर बनाएको पार्टी हो ।

सर्वोच्च अदालतले पनि हामीलाई यतिसार्‍हो भनिसक्यो । केपी कमरेडले गरेका कतिपय गतिविधिलाई अदालतले अवैध भनिसक्यो । नागरिकता विधेयकमै भन्यो, कर्णालीमा चारजना सांसदलाई कारवाही गरेको सन्दर्भमा पनि अदालतले हुँदैन भन्यो । दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन ।

उहाँले त गलत गर्नुभयो तर पार्टी त हामीले मिलेर बचाउनुपर्छ भन्ने कुरा हामीबीच भयो । यसबीचमा वागमती प्रदेशको सन्दर्भमा हामीले धेरै छलफल गर्‍यौं । कसका लागि यो लडाइँ ? यसले हामीलाई के फाइदा ? यस्ता कुराहरु पनि भए ।

माओवादीबाट आएका कमरेडहरू हिजो पनि स्थायी कमिटीमा थिए उनीहरुलाई समेटेर लैजान के गाह्रो छ र ? हामीले नमान्ने भनेको छैन । मिल्ने आधार एक नम्बर केपी कमरेडले एकताको हात कुनै तुष नराखी बढाउने, माधव कमरेडले पनि त्यही ढंगले गर्ने ।

मैले संसदीय दलको बैठकमा प्रष्ट भनेँ, देश कहाँ पुगिसक्यो डुबेर । हाम्रो हालत कहाँ पुग्यो ? कम्युनिष्ट आन्दोलन कहाँ पुग्यो ? हामी त सिद्धिन लाग्यौं । यत्रो पार्टी कुन अवस्थामा पुग्यो ? हामी कुन अवस्थामा पुग्यौं ? हामीले यही अवस्थामा पुग्न त्यत्रो दुःख गरेको हो र ?

अहिले पनि हामी सचेत भएनौं भने पूरै सिद्धिने हो भनेर मैले नै त्यहाँ बोलेँ । हामी सबैले आफूलाई ‘मम’ भनौं, माथि नेतालाई मात्र नभनौं । नेताहरूलाई बिगार्ने हामी पनि हौं अलि-अलि ।

हाम्रो वागमती प्रदेश आफैंमा देशको राजधानी समेत रहेको महत्वपूर्ण प्रदेश हो । यो प्रदेशले चाहिँ एउटा सकारात्मक सन्देश जाने गरी अलिकति दबाब दिउँ न भनेर मैले नै पहल गरेको हो । यसमा अहिले पार्टीमा जुन समूहबन्दी छ, अलग पार्टीको अभ्यास भइरहेको छ त्यस हिसाबमा माधव नेपाल समूहले संस्थागत निर्णय गरेको होइन ।

मैले माधव कमरेडसँग सोधेर होइन हामीले आफैंले निर्णय गरेका हौं । त्यसमा राजेन्द्र पाण्डे हुनुहुन्छ, अरुण नेपाल हुनुहुन्छ हामीहरूले प्रदेशका साथीहरूले सल्लाह गरेको हो । हामीले एकताको सन्देश दिउँ भनेपछि एक ठाउँमा बस्यौं, मुख्यमन्त्री डोरमणि पौडेल कमरेडले पनि राम्रो पहल गर्नुभयो ।

त्यसपछि बजेट र नीति कार्यक्रम कस्तो ल्याउने भनेर एउटा कार्यदल बन्यो । कार्यदलमा दुवैतिरका कमरेडहरू बस्नुभयो । हिजो बोलिचाली नै थिएन, संवाद थिएन । एक-अर्कोमा अपमान गरेको छ, घृणा गरेको छ । अब त्यस्तो व्यवहार गरेर हामीलाई के फाइदा ? मैले फराकिलो मन राखेर भनेँ, हिजोका कुरा सबै बिर्सौं । हामीले गर्न हुने नहुने एक अर्कालाई गरेकै हो । अब मनलाई फराकिलो बनाऔं, एक अर्कामा हार्दिकता कायम गरौं । हामी मिलेर गयौं भने यो प्रदेशमा अरु धेरै कामहरू थप राम्रो गर्न सक्छौं । प्रदेश बलियो बनाउन सक्छौं, एमाले बलियो बनाउन सक्छौं ।

हामीले राजेन्द्र पाण्डेको संयोजकत्वमा बनाएको कार्यदलले राम्रो काम गर्‍यो । नीति तथा कार्यक्रम पारित गर्दा पनि हामी एक ठाउँमा भयौं । ह्वीप जारी गर्ने भन्ने पनि रहेन । नीति कार्यक्रम पारित गर्ने कुरा एमालेको साझा दायित्व भयो । यस्तो यस्तो नीति आउँदैछ, अबको नीति भनेको हामीसँग डेढ वर्षमात्रै बाँकी छ, कोभिड र विपत्‌लाई मध्यनजर गरेर ल्याउने भन्ने भयो ।

डोरमणि कमरेडले पनि मैले राखेको कुरा नै पार्टीको कुरा हो भन्नुभयो । हामीले एकताबद्ध भएर माथि नेतृत्वलाई दबाब दिउँ भन्नुभयो । वागमतीले नेतृत्वलाई एक किसिमले सबक पनि सिकाएको छ । जहिले पनि झगडा गरेर हाम्रो भएको शक्ति पनि क्षय भइरहेको छ, वडा तहसम्म हामी कमजोर हुँदैछौं ।

मैले उहाँहरू (ओली पक्ष) लाई भनेँ तपाईंहरू पनि पहल गर्नुस्, केपी कमरेडलाई भनेर उहाँलाई जेठ २ को अवस्थामा फर्काऔं । त्यसमा सबै कमरेडहरु सहमत हुनुभयो । हामीले सर्वसम्मत रूपमा वागमतीको संसदीय दलबाट पार्टी एकताका लागि सन्देश दियौं ।

जहाँसमम एमालेलाई एक बनाउने कुरा छ, केपी ओली पार्टीको अध्यक्ष पनि हो र प्रधानमन्त्री पनि । एकताको हात उहाँले बढाउनुपर्छ । पार्टी एकता गर्ने पहिलो काम उहाँको हो, दोस्रो माधव कमरेडको हो ।

हिजो नेकपा बनाउने काम पनि केपी कमरेडले गर्नुभएको हो । पछि सर्वोच्च अदालतले आफ्नो-आफ्नो ठाउँमा फर्क भन्यो । हामीले अदालतको आदेश लगत्तै प्रचण्डलाई छाडेर फर्केको हो नि, तर केपी कमरेडले प्रवेश गर्नै दिनुभएन । बेकारमा समानान्तर कमिटी बनाउनुपर्ने स्थिति भयो ।

सबैभन्दा ठूलो गल्ती केपी कमरेडले गर्नुभएको छ, उहाँले अब एकताको हात बढाउनुपर्छ । उहाँको कारणले गर्दा आन्दोलन डुब्नु हुँदैन । हामीले सकारात्मक दबाब दिएर एकताको आधार बनाउन वागमतीबाट प्रयास गरेको हो ।

अब जेठ २ मा फर्किनै पर्छ । अदालतको कुरा पनि त्यस्तै आयो । केपी कमरेडको जेठ ३ अघि फर्किने भन्ने कुरा पनि छ। तर अदालतले एक खालको वातावरण हामीलाई बनाइदियो । अब जेठ २ मा फर्किँदा कोही झुक्नुपर्ने भन्ने नै रहेन । कोही झुक्यो, कोही तल पर्यो, कोही माथि पर्‍यो भन्ने कुरा अब आउँदैन, किनकी यो अदालतको कुरा भयो । यो हाम्रो लागि एमाले मिलाउने मौका पनि हो ।

सर्वोच्च अदालतको आदेशले एमाले ब्युँतियो, अब अदालतकै पछिल्लो आदेशलाई टेकेर जेठ २ मा फर्किने वातावरण बनेको छ । त्यसपछि के-के गरेर जाने भनेर साझा प्रस्ताव तयार पार्नका लागि केपी कमरेड र माधव कमरेड बस्नुपर्छ । अब त नेता उहाँहरू नै हो ।

अब जेठ २ मा फर्कौं, विगतमा भएका कमी-कमजोरी समीक्षा गरौं तर एमाले बलियो बनाउँ भनेर जाँदा समस्या छैन । अब यो-यो गरेर जाने भन्ने प्रस्तावसहित उहाँहरू आउनुभयो भने ठ्याक्क जेठ २ मा फर्केर अलिकति पनि कन्जुस्याइँ नगरी बैठक डाक्ने अवस्था बन्छ ।

जेठ २ मा पुगेर बैठक बस्नेवित्तिकै अरु कुरा मिल्छन् । समस्या हाम्रोतिर पनि छन् केपी कमरेडकोतिर पनि होलान् । हाम्रोमा रघुजी पन्त, बेदुराम भुसाल कमरेडहरू स्थायी कमिटी सदस्यका रूपमा हुनुहुन्छ । तर जेठ २ मा फर्किँदा उहाँहरु त हुनुहुन्न तर त्यो मिलाउन सकिन्छ ।

कतिपयले अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पाउनेगरी अहिलेको सरकार जोगाइदिएको भन्ने टिप्पणी गरेको पनि सुनियो । तर, म आज नेपाल प्रेसमार्फत नै घोषणा गर्छु कि, अब म मुख्यमन्त्री बन भनेर पार्टीले दियो भने पनि खान्न । मलाई अब मुख्यमन्त्री बन्नु नै छैन । मलाई कुनै लोभ पनि छैन । पहिले पनि मेरो चाहना थिएन ।

यो सबै कुराहरू सबै यता पनि होला, समस्या त्यता पनि होला । समस्या माओवादीबाट आउनेहरूको पनि छ । आखिर कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ भन्दा कुनै ठूलो कुरा होइन । प्याकेजमा छलफल गरेर यसरी जाने भनेर जान्छ । यो कुनै समस्या होइन ।

माओवादीबाट आएका कमरेडहरू हिजो पनि स्थायी कमिटीमा थिए उनीहरुलाई समेटेर लैजान के गाह्रो छ र ? हामीले नमान्ने भनेको छैन । मिल्ने आधार एक नम्बर केपी कमरेडले एकताको हात कुनै तुष नराखी बढाउने, माधव कमरेडले पनि त्यही ढंगले गर्ने ।

सिंगो एमाले बलियो बनाउन दुई नेता अघि बढ्ने । मान्छे निराश छन् । यो कुनै व्यक्तिले हार्ने वा जित्ने कुरा होइन । हामीले यो भन्दा ठूलो हार त व्यहोर्न बाँकी छ । त्यसैले दुईजना नेता मिल्नुपर्‍यो । साझा प्रस्ताव तयार गर्नुपर्‍यो, कसरी जाने भन्ने कुरा पष्ट मार्ग तयार पार्नुपर्‍यो ।

अदालतले हामीलाई एउटा धरातल दियो । कम्युनिष्ट आन्दोलन बचाउन, एमाले जोगाउनका लागि यो मौका हो । एमाले बलियो बन्यो भने लोकतन्त्र बलियो हुन्छ, देश बलियो हुन्छ । पार्टीहरू कमजोर भएको अवस्थामा लोकतन्त्र जोगिन्न । अझ एमाले कमजोर भयो भने देश कमजोर हुन्छ । एमाले एक भयो भने प्रदेश सरकारहरू पनि जोगिन्छ, माथिको सरकार पनि जोगिन सक्छ । हामी कमजोर भयौं अरुका गोटीमात्र बन्छौं ।

केपी कमरेड, माधव कमरेडहरू यत्रो ठक्कर हण्डर खाएर, जेलनेल खाएर आएको नेताहरू हो, उहाँहरूले पार्टी मिलाउनुपर्छ र मलाई विश्वास छ मिल्छ । जेएन कमरेडले एउटा वक्तव्य छाडेर जानुभएको छ । अब हामीसँग त समय पनि छैन । हामी धेरैजसो नेता ७० को हाराहारीमा पुगिसकेका छौं ।

अब हामी यो पाराले सिद्धिन्छौं तर युवा पुस्तालाई के दिन्छौं ? यस्तै भाँडभैलो पार्टी छाडेर जाने ? उनीहरूको भविष्य अन्धकारमा डुबाउने ? अब युवा पुस्ताको भविष्य सुरक्षित गरेर देश बलियो बनाउन पनि एकताबद्ध एमाले चाहिन्छ ।

०००

कतिपयले अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पाउनेगरी अहिलेको सरकार जोगाइदिएको भन्ने टिप्पणी गरेको पनि सुनियो । तर, म आज नेपाल प्रेसमार्फत नै घोषणा गर्छु कि, अब म मुख्यमन्त्री बन भनेर पार्टीले दियो भने पनि खान्न । मलाई अब मुख्यमन्त्री बन्नु नै छैन । मलाई कुनै लोभ पनि छैन । पहिले पनि मेरो चाहना थिएन ।

सबैलाई आजै प्रष्ट पार्न चाहन्छु कि म मुख्यमन्त्रीको दाबेदार होइन । यो वागमती प्रदेशलाई जनमुखी विकास र सम्वृद्धिको बाटोमा काम गर्नका लागि मैले सहयोग गर्छु । त्यही भनेरै अहिले प्रदेश सरकारको नीति कार्यक्रम पनि मिलेर बनायौं पारित गर्‍यौं । अब बजेट पनि त्यसैगरी पारित गर्छौं ।

(शाक्यसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *